झापा । नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा एमाले निकट प्रेस चौतारी पराजित भएको छ । महासंघ झापाको अध्यक्षमा एकराज गिरी विजयी भएका छन् भने अधिकांश पदमा उनकै प्यानल विजयी भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मिडिया नेपाल र स्वतन्त्र पत्रकारहरूको संयुक्त प्यानलले २० पदमध्ये १६ पदमा विजय हासिल गरेको हो ।
गिरीले प्रेस चौतारीका विशाल नेम्वाङ र प्रेस चौतारीबाटै बागी उम्मेदवारी दिएका तीर्थ सिग्देललाई हराएका हुन् । त्यस्तै उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई निर्वाचित भएका छन् । उनले गोपाल झापाली र हिमाल खरेललाई पराजित गरेका हुन् ।
सचिवमा डिकेश लामा निर्वाचित भएका छन् । उनीसँग सुब्रत न्यौपाने र प्रेम आचार्य पराजित भए । सहसचिव खुल्लामा राजु पाठक निर्वाचित भए । उनले विनोद सापकोटालाई पराजित गरेका छन् ।
समावेशी सहसचिवमा अर्जुन राजवंशी निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा रन्जित प्रसाईले रमेश तिवारीलाई हराए । सदस्यहरुमा मनिषा चम्लागाई, विनोद पाण्डे, चिरन्जीवी घिमिरे, सुष्मा राजवंशी, होमप्रसाद अधिकारी, द्रोण अधिकारी र रन्जित परियार, राजन साम्पाङ, अच्युतराज सुवेदी, अनिल वाग्ले र सुनिरा मैनाली निर्वाचित भएका छन् ।
त्यस्तै केन्द्रीय परिषद् सदस्यका लागि ४ जनाबीच प्रतिस्पर्धा भएको थियो । चारमध्ये तीन जना निर्वाचित हुनुपर्नेमा कृष्ण हुमागाई, ज्ञानेन्द्र निरौला र गोपाल काफ्ले निर्वाचित भए भने प्रधानमन्त्री ओलीका पूर्व प्रेस संयोजक चेतन अधिकारी पराजित भएका छन् । झापा शाखामा २ सय ६३ मतदाता रहेकामा बुधबारको निर्वाचनमा २ सय ५६ मत खसेको थियो
