सबैभन्दा बढी राष्ट्रवादी दाबी गर्ने केपी ओलीले विदेशीसामू आत्मसमर्पण गरेः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई राष्ट्रवादी भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिसामू आत्मसमर्पण गरेको बताएका छन् ।

बुधबार सल्यानको सल्लीबजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले आफूलाई सबैभन्दा बढी राष्ट्रवादी भएको भन्ने गरेपनि विदेशीसामू आत्मसमर्पण गरेको बताएका हुन् ।

उनले भने, ‘दोस्रो विश्व युद्धमा २ करोड मान्छे मरेपछि हिटलरको अन्त्य भयो । यस्ता घटना अन्त त हुन्थे’, तर अहिले नेपालमा हाम्रै अगाडि केपी ओली नामको व्यक्तिद्वारा संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र सम्मृद्धिको सपना कुल्चिदिने र विदेशी शक्तिका सामू आत्मसमर्पण गर्ने घटना घट्यो।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सबैले हस्ताक्षर गरेर जारी गरेको संविधान च्यात्ने काम गरेको आरोप लगाए । उनले केपी ओलीको कदमविरुद्ध लड्न विगतमा एमाले र माओवादी अलग–अलग नभएको बताए ।

झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेता पनि प्रतिनिधिसभाको विघटनविरुद्ध सडकमा उत्रिएका उनले बताए । जनताको विशाल आन्दोलन देखेपछि सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेर सही फैसला गरेले बताए । त्यसपछि नेकपाले ओलीलाई अध्यक्ष, दलको नेता र पार्टी सदस्यबाट हटाइएको बताए । अदालतको फैसलाले गर्दा पूर्ववत् रूपमा फर्किनुपरेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *