माग बढेसँगै चिराइतोको मूल्यमा वृद्धि

दिलकुमार लिम्बू, फूङलिङ । नेपालको पूर्वी पहाड तथा हिमाली भेगमा उत्पादन हुने चिराइतोको बजारमा माग बढ्न थालेको छ । चार÷पाँच वर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्यका कारण चिराइतो किसान निराश मात्र बनेका थिएनन्, प्रायः सबैले खेती नै गर्न छाडिसकेका थिए । अहिले ताप्लेजुङको विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरीद गर्न थालेपछि यसको मूल्यमा पनि वृद्धि भएको छ ।

फक्तालुङ गाउँपालिकाको लेलेप, ओलाङचुङ्गोला, तापेथोक, इखाबु, मिक्वाखोला गाउँपालिकाको पापुङ, नाल्बु, साँवा साथै सिरीजङ्घा गाउँपालिकाको याम्फुदिन र सिदिङ्वा गाउँपालिकाको कालीखोला र शुरुम्खिम जस्ता उच्च भेगमा चिराइतोको व्यावसायिक खेती गर्ने गरिएको छ । यी सबै क्षेत्रको चिराइतोको मुख्य बजार भनेको तिब्बत नै हो । ओलाङचुङ्गोला नाका हुँदै चिराइतो तिब्बती बजारमा बिक्री हुने गरेको छ ।

विश्वव्यापी महामारी कोरोनाका कारण सो नाका बन्द भएकाले न्यून मूल्यमा पनि चिराइतोको किनबेच हुन सकेको थिएन । भारत हँुदै तेस्रो बजारमा प्रवेश गर्ने भएकाले विगत पाँच वर्षदेखि प्रतिमन  सात हजारदेखि आठ हजारसम्ममा किसानको घरबाट व्यापारीले खरीद गर्ने गरेका थिए । अहिले प्रतिमन १२ हजारदेखि १५ हजार रुपैयाँसम्म व्यापारीले घरबाट नै खरीद गर्न थालेका छन् ।

किसानका अनुसार विगत चार÷पाँच वर्ष अगाडिदेखिको पछिल्लो समयको मूल्यमा बेच्दा किसानलाई यसको खेती र सङ्कलन गरेको खर्च नै नउठ्ने भएकाले खेती नै छाडेको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका केसिङकुमार लिम्बूले बताए ।

लिम्बूले चिराइतो खेतीलाई नै मुख्य व्यवसाय ठानेर यस क्षेत्रमा लागेको २० वर्ष भएको छ । उनले भने,“आजभन्दा २० वर्ष अगाडि नै चिराइतोको मूल्य प्रतिमन १६ हजार रुपैयाँ थियो यसको हिसाबले हेर्दा पछिल्लो वर्षमा प्रतिमन सात हजारले कारोबार हुनु भनेको अत्यन्त दुखद रहेको छ ।” उनका अनुसार सबैभन्दा बढी मूल्यमा १० वर्ष आगाडि प्रतिमन ४० हजारमा बिक्री भएको थियो । अहिले उनले सो पेशा नै परिवर्तन गरिसकेका छन् ।

लेलेपकै स्थानीय व्यापारी नाम्य शेर्पाका अनुसार स्थानीय गाउँका किसानको मुख्य नगदेबालीको रुपमा रहेको सो चिराइतोको भाउ नहुँदा उनीहरुको जीवनयापनमा पनि धेरै गाह्रो भएको छ । उनी पहिले यसबाट राम्रौ आम्दानी भएपछि पछिल्लो समय मूल्यमा हस आएसँगै धेरैले व्यावसायिक रुपमा खेती गर्न छाडेको बताउँछन् ।

मूल्य कम नभए पनि शेर्पाले आफूसँग भएको चिराइतो व्यापारीलाई सस्तोमा बिक्री नगरी राखेकाले अहिले राम्रो मूल्य पाएपछि ठूलो राहत भएको बताउनुहुन्छ । शेर्पाले प्रतिमन सात हजारमा किनेको चिराइतो भर्खरै प्रतिमन १२ हजार ५०० रुपैयाँमा बिक्री गरे ।

शेर्पाले स्थानीय गाउँका कृषकबाट ३५ मन चिराइतो सङ्कलन गरेर राखेका थिए । मिक्वाखोला गाउँपालिका–५ पापुङका व्यापारी निमा शेर्पाका अनुसार लामो समयपछि चिराइतोको माग आएको र मूल्य पनि राम्रै आउने सङ्केत पाएपछि आफूले पनि विभिन्न स्थानबाट चिराइतो खरीद गर्न थालेका हुन् ।

उनले भने, “यसपालिको माग भारतबाट बढी आएको छ, भारत हुँदै तेस्रो मुलुक निर्यात हुन्छ । सायद चीनको नाका ओलाङ्चुङगोला नाका खुलेको भए यो भन्दा अझ राम्रो दाम आउने थियो ।”

फुङ्लिङका व्यापारी तेञ्जिङ शेर्पाले पनि फक्ताङलुङ गाउँपालिका क्षेत्रबाट मात्रै अहिले १०० मनभन्दा बढी चिराइतो सङ्कलन गरेका छन् । उनले पनि भारतीय बजारबाट माग आएकाले आफूले सङ्कलन गरेको बताए । उनले १० हजारदेखि १५ हजार रुपैयाँसम्म मूल्यमा चिराइतो खरीद गरेका छन् । उनका अनुसार यसपटक पछिल्लो पाँच वर्षपछि चिराइतोको मूल्य सबैभन्दा बढी आएको हो ।

चिराइतो महत्वपूर्ण जडीबुटी हो । यो एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्म अत्यधिक हुने गर्छ । ज्वरो, कमलपित्त, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने विज्ञहरु बताउँछन् ।

ताप्लेजुङमा सरकारी वनबाट तीन हजार ५०० केजी उत्पादन गर्ने लक्ष्य रहेको वन कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १४ हजार ४२० केजी ताप्लेजुङबाट निकासी भएको वन कार्यालयको तथ्याङ्क छ । चालू आर्थिक वर्षमा ११ हजार १०० केजी निकासी भएको जनाइएको छ ।

गत वर्ष इलाम, पाँचथर र सङखुुवासभामा उत्पादन भएको चिराइतो ओलाङचुङ्गोला नाका हुँदै चीनतर्फ निकासी हुने गरेको चिराइतो व्यापारी दाबा ज्युङ्दाक शेर्पाले बताए । कोरोनाका कारणले ओलाङ्चुङ्गोलातर्फको टिपताला नाका १६ महिनादेखि बन्द भएको छ । नाका बन्द हुँदा चीनतिर चिराइतो जान नसकेर भारततिर निर्यात हुन थालेको शेर्पाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *