अटोरिक्सामा अवैध काठ ओसार्ने दुई जना पक्राउ

कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म १ ह ८०५ नम्बरको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो ।

अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

यसैगरी बुधबार प्रहरीले कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरस्थित वनदेवी सामुदाययिक वन छेउमा अन्दाजी ३० क्यूविक फिट सालका दुई गोलिया बरामद गरी सामुदायिक वनमा जिम्मा लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *