USAID

टाउकामा जिम्मेवारी आयो भने पछि पर्ने वाला छैनः सभापति देउवा


चितवन । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागिभन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस तरुण विभागले शनिबार चितवनको रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै सभापति देउवाले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको बताएका हुन् ।

उनले भने, “प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ । टाउकामा जिम्मेवारी आयो भने पछि पर्ने वाला पनि छैन ।” सभापति देउवाले अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको छ भन्दै माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको बताए । उनले भने “मधेशवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष कसरी अगाडि बढ्छन् । त्यो हेर्नुपर्छ ।”

सभापति देउवाले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए । सभापति देउवाले स्थानीय तहदेखि सङ्घीय तहसम्म निर्वाचन हुने भएकाले सबैलाई व्यवस्थापन गर्न सकिने बताउँदै जनताको घर दैलोमा गएर निर्वाचनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, “जनता मालिक हुन् । नोकर होइनन् । भाषण गरेर मत दिँदैनन् । जनताको सुख दुःखमा साथ दिनुस् । निर्वाचन जितिन्छ ।” कांग्रेस भित्रको आन्तरिक विवाद टुङ्गाएर अघि बढ्ने समय आएको उनको भनाइ छ । कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस सर्तसहित सरकारमा नजाने बताए । उनले भने, “कांग्रेस सरकारमा जान्छ तर हात खुट्टा बाँधेर सरकारमा जाँदैन ।” विना सर्त लोकतान्त्रिक विकल्पमा दल आउने भए मात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने बताए ।

 

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *