सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भएपनि ओलीको विकल्प खोज्नुपर्छः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भएपनि ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् ।

शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा बोल्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जानुपर्ने बताएका हुन् ।

राजनीतिक अन्यौलता भएको भन्दै उनले अन्यौलतालाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने बताए । नेतृत्वले निर्णय लिन नसकेको भन्दै उनले पार्टी नेतृत्व किंकर्तव्यविमुढ भएर बस्ने बेला नभएको बताए ।

उनले भने, ‘अहिलेको केपी ओली जसले यत्रो ठूलो उत्पात गरे । उधुम गरे । तिनको विकल्पमा नयाँ सशक्त विकल्प नेपाली कांग्रेसले प्रस्तुत गर्नका लागि समायोजनको संयोजकको भूमिका नेपाली कांग्रेस जस्तो पार्टीले खेल्नुपर्छ । यो पार्टीले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्छ । देशलाई ठिक दिशा दिने हैसियत राख्नुपर्छ ।’

नेपाली कांग्रेसका कतिपय नेताहरुले चुनावको पक्षमा बोल्ने गरेको भन्दै उनले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गनु नहुने बताए । संसदमा भएका शक्तिहरुलाई समायोजन गरेरै विकल्प दिनुपर्नेमा उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *