अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या नरहेको विश्व स्वास्थ्य संगठनद्वारा जानकारी

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरुलाई आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमा आवश्यक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरेको तर त्यस्तो कुनै पनि खराबी भने नदेखिएको बताएको छ ।

यस खोपका विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गरेकोमा त्यस्तो स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकोले सो खोप सुरक्षित रहेकोले लगाउन विश्वका देशहरुलाई आग्रह गरिएको हो ।

यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिएको भनेर विश्वव्यापी रुपमा प्रचार गरिएको छ । जसका कारण विश्वका कतिपय देशले त यो खोपमाथि प्रतिबन्ध पनि लगाएका छन् ।

रगत जम्ने सम्भावित आशङ्कालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए । उता युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाइ हालै मात्र सार्वजनिक गरेको थियो ।

त्यसलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स्, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले भने खोप अभियान पुनः शुरु गर्ने बताएका छन् । यता पछिल्लो समयमा भाइरसको संक्रमण बृद्धि भएका कारण निकै समस्यामा परेको फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ ।

युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरुसमक्ष आग्रह गरेको थियो । कोभ्याक्समार्फत् विश्व स्वास्थ्य संगठनले हाल विश्वका कतिपय देशहरुमा वितरण गरिरहेको कोरोना विरुद्धको खोपमा ९० प्रतिशतभन्दा बढी यही खोप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *