Skip to content
आइतबार, १७ फागुन २०८२
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गरेका छौँः अध्यक्ष पुन(अन्तरवार्ता)

५ चैत, २०७७नेपाल समाजविचार, राजनीति

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त क्याप्टेनसमेत हुन् । पर्यटकीयस्थल घोडेपानीमा लामो समय होटल र पर्यटन व्यवसायको अनुभव संगालेका पुनले आफूले जनप्रतिनिधिको हैसियतमा पाएको सुविधालाई विपन्नको शिक्षा, स्वास्थ्यलगायत सामाजिक काममा परिचालन गरेका छन् । सेनामा रहँदा पौडीमा अन्तरराष्ट्रिय पदकसमेत जितेका पुनसँग गाउँपालिकाका गतिविधि, समस्या, सम्भावना र चुनौतीका विषयमा केन्द्रित रहेर राससका म्याग्दी समाचारदाता सन्तोष गौतमले गरेको कुराकानीको सम्पादित अंशः

स्थानीय तहको करीब चार वर्ष नेतृत्व गर्दाको अनुभव कस्तो रह्यो ?

भारतीय सैनिकको २१ वर्ष नौ महिनाको जागीर छाडेर नेपाल आउँदा स्विमिङ र डाइभिङको प्रशिक्षक बन्ने सपना थियो । भारतको राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएर थुप्रै पदक दिलाएको अनुभवका आधारमा नेपालमा आफूले सिकेको सीप सिकाउने रहर थियो तर अवसर पाइन । परिस्थितिले राजनीतिमा ल्यायो । जनताको सेवा र विकास कसरी गर्न सकिन्छ भनेर लागिरहेको छु । क्याप्टेन भएर फौजको र जनप्रतिनिधि भएर पालिकाको नेतृत्व गर्नुमा धेरै फरक महसुस गरेँ । फौजको कमाण्ड गर्दा तत्कालै रिजल्ट आउने काम हुन्थ्यो भने पालिकामा सबैको विचार सुनेर, भावना बुझेर काम गर्नुपर्छ । शुरुआतमा कर्मचारी, अनुभव, कानून, ऐनका अभाव देखिए पनि अहिले सबै अभाव हटेर पालिकाले लय समातेको छ । गाउँपालिका संस्थागत हुँदैछ । जनताको आशा र विश्वास बढेको छ । जनताका बीचमा रहेर काम गर्दा करीब चार वर्ष बितेको पत्तै भएन ।

अन्नपूर्ण गाउँपालिकाले अहिलेसम्म हासिल गरेका मुख्य उपलब्धि के के हुन् ?

जनताको आवश्यकता र हामीले चुनावमा गरेका प्रतिबद्धताअनुसार पूर्वाधार, सामाजिक र आर्थिक विकासका योजना तथा कार्यक्रम सञ्चालन गरेका छौँ । पूर्वाधारतर्फ गाउँपालिकाको केन्द्र पोखरेबगरबाट सबै वडा र बस्ती सडक सञ्जालमा जोडिएको छ । त्यहाँ बाह्रै महिना सवारी साधन चलाएर यातायात सुविधा दिन प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर स्तरोन्नति, मोटर पुल बनाउने काम भइरहेको छ ।

अधुरो रहेका ५ र ६ नं वडाको भवनलाई पूर्णता दिनाका साथै सामुदायिक भवन, खेलमैदान र पैदलमार्ग निर्माण भएको छ । गाडपार, लेकगाउँ, सुवा, औला, पाउद्वार, किन्दु र घोडेपानीमा सडक पु¥याएका छौँ । घार, दोवा र घराम्दीमा एक घर एक धारासहितको खानेपानी आयोजना निर्माण हुँदैछ । पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै चित्रे जोड्ने सडक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत कालोपत्र हुँदैछ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले हाम्रो भूगोलमा पर्ने महभीरबाट मुस्ताङको सिमाना काभ्रेभिरसम्म सडक कालोपत्र गर्दैछ । सामुदायिक विद्यालयमा इन्टरनेटको प्रयोगबाट टेलिटिचिङ शुरु भएको छ । प्रदेश सरकारसँगको साझेदारीमा शिखमा नमूना आवासीय मावि सञ्चालन गरेका छौं । दोवामा पालिकास्तरीय अस्पताल बनाउन जग्गा प्राप्ति गरेर ठेक्का प्रक्रियामा लगेका छौँ ।

दलित, महिला, जनजाति, अपाङ्गता भएकाहरुको क्षमता विकास, कला र संस्कृतिको संरक्षण, पर्यटकीयस्थलमा पूर्वाधार निर्माण, स्थानीय सरकार सञ्चालनसम्बन्धी ऐन, कानून निर्माण गरेर लागू गरेका छौँ । यहाँका तातोपानी कुण्ड, पर्यटकीयस्थललाई करको दायरामा ल्याएर भएको आम्दानी त्यहीँको विकासमा परिचालन गरेका छौँ । आलुको व्यावसायिक उत्पादन केन्द्र, सुन्तलाको पकेट क्षेत्र बनाएको छौँ । बेरोजगार र विपन्नलाई पशुपालन, जडीबुटी खेती र अन्य सीपमूलक काममा जोडेर आयआर्जन सुधारमा सघाएका छौँ ।

 पर्यटन क्षेत्रको विकासमा केकस्ता काम भएका छन् ?

पुनः विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग र आठ हजार मिटरभन्दा अग्लो पहिलोपटक मानव पाइला परेको अन्नपूर्ण हिमाल हाम्रो भूगोलमा पर्छ । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’ पदमार्ग पहिचान गरेर पर्यटन विभागबाट पूर्वाधार निर्माण शुरु भएको छ । ओझेलमा परेका पर्यटकीयस्थलको प्रचारप्रसार गर्न गत वर्ष प्रथम अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कप खेलकूद प्रतियोगिता सञ्चालन गरेका थियौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० पर्यटकीयस्थलमा सूचीकृत गरेको घोडेपानी, पुनहिल र मोहरेडाँडामा पूर्वाधार निर्माण भइरहेको छ । घोडेपानीबाट पुनहिल जोड्ने पदमार्गमा सोलार जोडिएको छ । पुनहिलमा दृश्यावलोकन केन्द्र बनाएका छाँै । पुनहिलबाट मोहरेडाँडा जोड्ने पदमार्ग निर्माण भएको छ । मोहरेडाँडाको सामुदायिक लजको क्षमता बढाएका छौँ । घोडेपानीबाट प्यारीबाराही ताल जोड्ने घोडा र साइकलबाट यात्रा गर्न सकिने पदमार्ग बनाउन लागेका छौँ ।

गण्डकी प्रदेशकै ठूलो घोडेपानी क्षेत्रमा पर्ने फूलबारीमा गुराँस उद्यान बनाउने तयारी भएको छ । खोपारा लेक जोड्ने पदमार्ग निर्माण, सामुदायिक लजको क्षमता विस्तार शुरु भएको छ । जलथले–फगाम र भुरुङबाट मुन्द्रा चडाउने डाँडा हुँदै धवलागिरि आइसफलसम्म जोड्ने पदमार्ग निर्माण भइरहेको छ । केही समय अगाडि मेरै नेतृत्वमा ट्रेकिङ एशोसिएशन (टान)को टोली अन्नपूर्ण नर्थ बेसक्याम्प पुगेर आएका थियौँ ।

अत्यन्तै सुन्दर त्यस स्थानसम्म आन्तरिक तथा बाह्य पर्यटकलाई पुर्याउनका लागि हामीले पहल गरिरहेका छौँ । त्यो सफल हुनु गाउँपालिकाका लागि निकै ठूलो उपलब्धि हो । हाम्रो गाउँपालिकामा रहेका चार वटा तातोपानी कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण भइरहेको छ । स्थानीयवासीको रोजीरोटी बढ्ने र आन्तरिक तथा बाह्य पर्यटकले पनि सुविधा पाउने हिसाबले काम गरिरहेका छौँ । स्थानीयवासीलाई नै अग्रसर गराएर धेरैभन्दा धेरै पर्यटकको सुविधा हुने गरी व्यवस्थित बासस्थानको प्रबन्ध गर्नेतर्फ लाग्नेछौँ ।

अन्नपूर्ण गाउँपालिकामा सञ्चालित जलविद्युत् आयोजनाको अवस्था कस्तो छ ?

अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट जोड्ने ३९ किलोमिटर प्रसारण लाइन हालै निर्माण सकिएको छ । दुवै ठाउँमा २२० केभी क्षमताको सबस्टेशन पनि निर्माण भएको छ । कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनामार्फत निर्माण भएको यो सबस्टेशन र प्रसारण लाइनले अन्नपूर्ण गाउँपालिकामा जलविद्युत् विकासमा महत्वपूर्ण योगदान छ ।

अनुमति लिएर बसेका आयोजना निर्माणले गति लिन थालेका छन् । पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले गत वर्षदेखि नै उत्पादन शुरु गरेको थियो । बयालीस मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गर्ने तयारी गरेको छ । एक सय १० मेगावाट क्षमताको निलगिरि पहिलो र दोस्रोका साथै १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग खनेर सकेको छ । एक सय ६५ मेगावाट क्षमताको कालीगण्डकी गर्ज, ५३ मेगावाट क्षमताको अपर कालीगण्डकी जलविद्युत् आयोजना पनि निर्माणको प्रक्रियामा छन् । जलविद्युत् आयोजना निर्माणमा आउने सामाजिक समस्या समाधानका लागि सहजीकरण गरेका छौँ । यी आयोजना निर्माण भएर रोयल्टी आउन थाल्यो भने हाम्रो गाउँपालिकाको विकासमा धेरै ठूलो योगदान पुग्ने अपेक्षा गरेका छौँ ।

तपाईँले जनप्रतिनिधिको हैसियतमा पाएको सुविधालाई सामाजिक क्षेत्रमा परिचालन गर्नुभएको छ । कसरी र किन गर्नुभएको हो ?  क्याप्टेनको पेन्सनले मेरो व्यक्तिगत खर्च चल्छ । परिवारको आफ्नै व्यवसाय छ । जनप्रतिनिधि बनेपछि श्रीमती र छोरालाई होटलको जिम्मा लगाएको छु । जनतासँग गरिएको प्रतिबद्धताअनुसार सेवा सुविधालाई सामाजिक क्षेत्रमा लगाइएको हो । गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक  ४८ हजार सुविधा तोकेको छ ।

अहिलेसम्म विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकूद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको  १८ लाखभन्दा बढी खर्च गरेको छु । खातामा रु तीन लाख बाँकी छ । गाउँपालिकाबाट सम्बोधन गर्न नसकिने जनताका ससाना समस्यालाई मैले पाएको सुविधाबाट व्यक्तिगत हिसाबले सहयोग गरेको हो । यसमा मेरो कुनै राजनीतिक स्वार्थ छैन । जनप्रतिनिधि नहुँदाका अवस्थामा पनि मैले क्षमताअनुसार सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको थिएँ ।

तपाईँ भारतीय सेनामा रहँदा विभिन्न अन्तराष्ट्रिय पदक पनि जित्नुभएको रहेछ ?

पालिकाले खेल क्षेत्रको विकासका लागि के गरेको छ ? पुनः गोरखा सैनिकमा रहँदा स्विमिङ र डाइभिङमा सन् १९७८ मा क्यानडामा भएको एघारौँ कमनवेल्थ, १९८२ को दिल्लीको नवौँ र १९८६ मा दक्षिण कोरियामा भएको एघारौँ एशियाली खेलमा पदक दिलाएको थिएँ । भारतको सन् १९७५ देखि ७९, ८१, ८२ र ८६ को राष्ट्रिय खेलकूद प्रतियोगिताको स्वर्ण पदक जितेको थिएँ । दश वर्षसम्म भारतको राष्ट्रिय पौडी प्रशिक्षकको भूमिका निर्वाह गरेको थिएँ तर मेरा मेडल र पदक कुना परेका छन् । विगत सम्झिँदा र कला सिकाउन नपाउँदा मन खिन्न हुन्छ । पौडी र गोटाखोरको प्रशिक्षक बनेर सीप सिकाउने सपना अझै जीवित छ । खेलकूदको विकासमार्फत देशलाई चिनाउन पालिकाबाट खेल प्रशिक्षण र पूर्वाधार निर्माणमा जोड दिएका छौँ ।

सम्बन्धित खवर

मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा अलपत्र परेका नेपालीलाई सुरक्षा दिएर राख्ने मन्त्रिपरिषदको निर्णय

मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा अलपत्र परेका नेपालीलाई सुरक्षा दिएर राख्ने मन्त्रिपरिषदको निर्णय

३८ मिनेट अघि
नेपाली कांग्रेस (बी.पी.) नेपाली कांग्रेसमा समाहित

नेपाली कांग्रेस (बी.पी.) नेपाली कांग्रेसमा समाहित

४ घण्टा अघि
मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक छः सभापति थापा

मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक छः सभापति थापा

६ घण्टा अघि
निर्वाचन प्रयोजनाका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैङ्क खाता

निर्वाचन प्रयोजनाका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैङ्क खाता

६ घण्टा अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा अलपत्र परेका नेपालीलाई सुरक्षा दिएर राख्ने मन्त्रिपरिषदको निर्णय

मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा अलपत्र परेका नेपालीलाई सुरक्षा दिएर राख्ने मन्त्रिपरिषदको निर्णय

३८ मिनेट अघि
भारत टी-२० विश्वकपको सेमिफाइनलमा

भारत टी-२० विश्वकपको सेमिफाइनलमा

१ घण्टा अघि
इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

१ घण्टा अघि
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

१ घण्टा अघि
महाराष्ट्रको नागपुरमा विस्फोटक कारखानामा भएको विष्फोटमा १७ जनाको मृत्यु

महाराष्ट्रको नागपुरमा विस्फोटक कारखानामा भएको विष्फोटमा १७ जनाको मृत्यु

१ घण्टा अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy