इनरुवा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसकै नेतृत्वमा सरकार गठनको पहल गर्न पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।
सुनसरी सदरमुकाम इनरुवास्थित पार्टी कार्यालयमा कांग्रेस सुनसरीले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रममा सिटौलाले केन्द्रीय समितिको बैठकमा आफूले तीन दलसँग सहमति गरेर कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न सुझाव दिएको जानकारी दिए ।
नेता सिटौलाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाधलीरहित बनाउनका लागि भएपनि कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिदैं अहिलेको सरकारले जनतालाई राहत दिनुको सट्टा दुःख दिने काम मात्र गरेको आरोप लगाए ।
किसानको नाममा ठूलाठूला भाषण गरेको भए पनि अहिलेको सरकार किसानको समस्याप्रति उदासिन देखिएको उल्लेख गर्दै उनले अहिले साना किसानका लागि खाद्यमल, सिँचाइ, बीउबिजनको समस्या रहेकाले यसतर्फ सरकार सम्वेदनशील हुनुपर्ने बताए ।
