कञ्चनपुर । मातृभूमिको रक्षाका लागि ज्यानको आहुति दिने कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ आनन्द बजारका ३६ वर्षीय शहीद गोविन्द गौतमको बुधबार चौथो स्मृति दिवस मनाइएको छ । दिवसका अवसरमा नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले शहीद गोविन्द गौतमको शालिकमा माल्यार्पण गर्दै नेपाली भूमिरक्षाका लागि आफ्नो ज्यानको आहुति दिएका शहीद गौतम देशकै आदर्शका रुपमा रहेको बताए ।
कार्यक्रममा उनले शहीद गौतमका छोरीलाई नगरपालिकाका तर्फबाट पठनपाठनका लागि सघाउ पुर्याउन आर्थिक सहयोग गर्दै आएको बताए । नगर प्रमुख थापाले शहीद गौतमका परिवारलाई नगरपालिकाबाट हुनसक्ने सहयोग निरन्तररुपमा गरिने बताए । शहीद गौतमको स्मृतिमा उद्यान निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाइने उनको भनाइ थियो ।
कार्यक्रममा शहीद गौतमका बुवालाई नगर प्रमुख थापाले दोसल्ला ओढाइ सम्मानसमेत गरेका छन् । “हिजोका दिनमा भारतको रानी नगरमा सीमा पिल्लर देखेका थियौँ”, नगर प्रमुख थापाले भने, “अहिले भारतले नेपाली स्वामित्व भएको जमीन पनि कब्जा गरेको छ ।”
सीमा क्षेत्रका जनतामाथिको भारतीय ज्यादति सशस्त्र प्रहरी बलका बिओपी राखिएपछि केही कम भए पनि भारतसँगको सीमा क्षेत्रका विवाद यथावत रहेको उनले बताए । विसं २०७३ फागुन २६ गते भारतीय सीमासुरक्षा बल एसएसबीले गोली हानी गौतमको हत्या गरेका थिए । बुवा खेमलाल र आमा हरिनादेवीका तीन सन्तानमध्ये गोविन्द माइला छोरा हुन् । कल्भर्ट राख्ने विषयमा विवाद हुदा भारतीय एसएसवीले गौतममाथि गोली प्रहार गरेका थिए ।
