न्यूजिल्याण्डमा अँध्यारोमा चम्किने गुण भएको शार्क फेला

वैज्ञानिकहरूले न्यूजिल्याण्डको तट नजिकै गहिरो समुद्रमा रहेका शार्कका तीनथरी प्रजातिमा अँध्यारोमा चम्किने क्षमता रहेको पत्ता लगाएका छन् । शार्कका ती प्रजातिको नमुना न्यूजिल्याण्डको पूर्वमा अवस्थित समुद्रको पिँध नजिकबाट गत वर्षको जनवरीमा सङ्कलन गरिएको थियो ।

काइटफिन शार्क भनिने तीमध्ये एक प्रजाति हालसम्म थाहा भएकोमध्ये सबैभन्दा ठूलो प्रकाशधारी प्राणी भएको छ जसको लम्बाइ १८० सेन्टिमिटरसम्म हुन्छ ।

ब्ल्याकबेली ल्यान्टर्नशार्क र शदर्न ल्यान्टर्नशार्क भनिने अन्य दुई प्रजातिमा पनि जैविक प्रकाशधारी क्षमता देखिएको पुष्टि भएको छ । समुद्री जीव वैज्ञानिकहरूलाई ती तीनै प्रजातिका बारेमा पहिले नै ज्ञान त थियो तर ती प्रजातिले प्रकाश पनि प्रकट गर्न सक्छन् भन्ने तथ्य भने हालमात्र प्रमाणित भएको हो ।

धेरै जसो समुद्री जीव र जुनकीरी जस्ता कीराले आफै प्रकाश सिर्जना गर्न सक्छन् तर शार्कजस्ता ठूला जनावरमा पनि त्यस्तो क्षमता रहेको भन्ने थाहा लागेको यो पहिलो पटक हो ।

अनुसन्धानकर्ताहरूको विचारमा पेटको भाग उज्यालो पार्न सक्ने ती शार्कहरूको क्षमताको प्रयोग आक्रमणकारीहरू र अन्य जोखिमबाट जोगिनमा हुनुपर्दछ । तिनीहरू भन्छन् जीवहरूले प्रकाश प्रकट गर्ने क्षमता शार्कको छालाभित्र रहेका फोटोफोर भनिने प्रकाश उत्पन्न गर्ने हजारौँ कोषहरूका कारण हासिल हुनेगर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *