USAID

म्यान्मारमा सेनाको गोली प्रहारबाट ३८ प्रदर्शनकारीको मृत्यु

  • 69
    Shares

म्यान्मारमा बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना प्रदर्शनकारी मारिएका छन् । जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भनेको छ । म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडियो फूटेजहरू बाहिर आइरहेको बताइन् । बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ । सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ । गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन् ।

म्यान्मारका छिमेकीहरूले संयम अपनाउन आग्रह गरेको एक दिनपछि त्यस्तो घटना भएको छ । राष्ट्रसङ्घीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते तुल्याइएको बताइन् ।

उनका अनुसार एउटा भिडियो क्लिपमा प्रहरीले निसशस्त्र स्वास्थ्य स्वयमसेवकको टोलीलाई पिटिरहेको देखिन्छ । त्यस्तै अर्कोमा सडकमा प्रदर्शनकारीमाथि गोली चलाइएको र सम्भवतः मारिएको देखिन्छ । सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर छन् । एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ। आइतवारको हिंसामा १८ जना मारिएका थिए ।

कूपछि नेत्री आङ सान सूकीसहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ। प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन् ।

सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ। उक्त चुनावमा सू चीको दल न्याश्नल डेमोक्रेटिक पार्टीले ठूलो जित हासिल गरेको थियो । सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन। उसले निर्वाचन आयोगमा हेरफेर गरेको छ र यही वर्ष ताजा चुनाव गराउने वाचा गरेको छ।


  • 69
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *