- 426Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा संकटकाल लाग्ने संकेत गरेका छन् । मंगलबार बिहान सुरक्षा परिषदको बैठकमा प्रधानमन्त्री ओलीले राजनीतिक घटनाक्रम आँकलन गर्न नसक्ने अवस्थाबाट अघि बढिरहेकाले त्यसतर्फ सचेत रहन चारै सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।
श्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीले संकटकाल लगाउनसक्ने अवस्था सृजना हुने बताएका थिए । उनले भने, ‘मूलतः चुनावकै कुरा हो । चुनाव हुन नसक्ने कुरा पनि हुन सक्छ । त्यसका लागि तपाईँहरु तयारी अवस्थामा रहनुस्।’
यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफू निकटका नौ जना मन्त्रीसहित शीतलनिवास गएर संकटकालका बारेमा जानकारी गराएका बताइएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओलीले पूर्वमाओवादी बाहेकका मन्त्रीहरुलाई साथमा लिएर गएका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसलाको दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले अनेक विकल्पमा छलफल सुरु गरेका छन् । प्रधानमन्त्री निर्वाचनको तयारी नगरेको भन्दै निर्वाचन आयोगसँग असन्तुष्ट बनेका छन् ।
त्यस्तै अदालतले आफ्नो कदमकाविरुद्ध फैसला गरे आन्दोलन गर्ने चेतवनीसमेत दिँदै आएका छन् । यसैबीचमा महान्यायाधिवक्ता अग्नी खरेलसँग पनि प्रधानमन्त्री असन्तुष्ट बनेका समाचार सार्वजनिक भएका छन् ।
सरकारको प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री महान्यायाधिवक्ता खरेलसँग असन्तुष्ट बनेका हुन् । खरेलले प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाएका खबरसमेत सार्वजनिक भएका छन् । तर खरेलले आफूले राजीनामा नदिएको बताएका छन् ।
- 426Shares