‘विप्लव’ समूहसँग भित्रभित्रै वार्ता, ‘सरप्राइज’ दिने सरकारकाे तयारी

काठमाडाैँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परिणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परिणाम नजिक पुगेपछि औपचारिक रूपमा एकैपटक ‘सरप्राइज’ दिन गरी रणनीति बनाउँदै आन्तरिक रूपमा नै वार्ता गरिरहेको उच्चस्रोतले जनाएको हो ।

यसबीच बालुवाटार र विप्लब समूहबीच अनौपचारिक पत्र आदानप्रदान समेत भइसकेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका तर्फबाट नेता चिरन पुनबीच काठमाडौंमा नै वार्ता भएको थियो । सो वार्तामा अब बस्ने मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र सरकारको तर्फबाट वार्ता टोली गठनको निर्णय गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

स्राेतका अनुसार यस अघि नै पत्रमार्फत विप्लव समूहले आफ्ना माग सरकारी पक्षलाई दिएको थियो । सरकारी पक्ष जघन्य अपराधमा संलग्नलाई भने छाड्न सहमत छैन । वार्ता जारी राखिंदा ने सरकारी पक्षले विप्लवका नेता तथा कार्यकतालाई पक्राउ गर्नेक्रम भने बन्द गरेको छ ।

सरकारी पक्षबाट वार्ताको संयोजन अर्थमन्त्री विष्ण पौडेलले गरिरहेका छन् । यसैगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र खानेपानीमन्त्री मणि थापा तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी तथा उद्योगमन्त्री लेखराज भट्टले समेत वार्तामा समन्वय गर्दै आएका छन् । हाल सरकारी पक्ष र विप्लव समूहबीच विभिन्न सर्त तथा सरकारको धारणाबारे अनौपचारिक रूपमा छलफल भइरहेको समाचार राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *