काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै सेटिङबाट जनताको विपक्षमा फैसला आए आफूहरुको आन्दोलन अगाडि बढ्ने चेतावनी दिएका छन् ।
विराटनगरमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै उनले फैसला गर्नुअघि देशभर भइरहेका यस्ता सभा सम्मेलनमा सर्वोच्चले ध्यान दिने आफूलाई विश्वास लागेको बताए । उनले भने, ‘कुनै सेटिङ र तिकडम गरी देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ र त्यस्ता शक्तिलाई पराजित गर्छौ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख र उपराष्ट्रपति प्रति आक्रोश पोखे । प्रधानमन्त्री ओलीले प्रचण्ड गलत बाटोमा हिँडेको देखेर आफूलाई माया लागेको बताए ।
उनले भने, ‘पहिला उहाँसँग वैद्य हुनुहुन्थ्यो, उहाँले छाड्नुभयो डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ, उहाँलाई झाँक्रीले बचाउन सक्दैन ।’ उनले विकासमा व्यवधान खडा गरेकाले प्रचण्डले अब नेपालको राजनीतिमा सफलता पाउन नसक्ने बताए । उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सही भएको भन्दै बचाउ गरे ।
उनले सर्वोच्च अदालतले कसैको दबावमा अन्यथा फैसाल गर्छ भन्ने आफूलाई नलागेको बताए । उनले भ्रममा नपरी चुनावका तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।
सभामुख अग्निप्रसाद सापकोटाले किर्ते गरेको तथा सरकारविरुद्ध मुद्दा हालेको भन्दै प्रधानमन्त्रीले आक्रोश पोखे । उनले भने, ’सभामुख बनाइएको थियो एकजनालाई । सरकारविरुद्ध मुद्दा हाल्न जानुभएको छ । सरकारविरुद्ध झगडिया हो सभामुख । सुहाउँछ ?’
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा विघटनको विरोध गरेको भन्दै उनले आक्रोश पोखे । उनले भने,‘हुनत उहाँहरु चुनाव नगराउने बाटोमा मान्छे तर अब त आउनुस् न हो यो बाटोमा । निर्वाचनमा जाऔं भन्दा किन प्रतिगमन भयो भन्दै हिँड्नु नि अब ?’
