काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियालाई पदमुक्त गरेकी थिइन् ।
झा पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा तथा नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालको चर्को आलोचना गर्दै आएका थिए।
उनले सम्पादन गर्ने मधेशवाणी पत्रिकामा केही वर्षअघि तत्कालीन भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाले सैन्य भर्ना आह्वान गरेको विज्ञापन छापिएपछि उनीविरुद्ध राज्य द्रोहको मुद्दा समेत लागेको थियो । पछि सफाइ पाएर उनी रिहा भएका थिए ।

