सुपारी दिएर महिलाको हत्या, दुई पक्राउ

बारा । महागढीमाई नगरपालिका–१ बस्ने कान्तीदेवी कुशवाहाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा महागढीमाई नगरपालिका–१ बरियापुर कचहरी टोल बस्ने लालबाबुप्रसाद कुशवाहा र सोही ठाउँ मठवा टोल बस्ने धनेश्वरी देवी कुशवाहा रहेका छन् । उनीहरुमध्ये लालबाबुलाई बिहीबार र धनेश्वरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
कान्तीदेवी आफ्नै घरमा माघ २५ गते राति मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा मृतकका परिवार र धनेश्वरीबीच जग्गा लगायत विविध विषयमा विवाद रहेकाले अपराधिक प्रवृत्तिका लालबाबुलाई परिचालन गराई कान्तीदेवीको हत्या गराएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका लालबाबु यस भन्दापूर्व २०५६ देखि २०६१ सालसम्म ३ वटा डाँका मुद्दा, १ वटा हातहतियार खरखजना मुद्दा र १ वटा केही सार्वजनिक अपराध मुद्दामा समेत पक्राउ परी सजाय भोगेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *