वीरगन्ज । जालसाजी गरी व्यक्तिको नाममा पारिएको साविक वीरगन्ज उपमहानगरपालिका– १३ आदर्शनगरमा रहेको कित्ता नम्बर ८१७ को जग्गा महानगरपालिकाको नाममा कायम भएको छ ।
हाल वीरगन्ज महानगरपालिका १० मा रहेको हालसाविकको कित्ता नम्बर १८–५३ को जग्गाको नापी दर्ता, फिल्ड बुक र श्रेस्ता वदर गरि पाउन वीरगन्ज महानगरपालिकाले पर्सा जिल्ला अदालतमा दर्ता गरेको मुद्दाको पर्सा जिल्ला अदालतका पाँच नम्बर इजलासका न्यायधीश माधव मैनालीको एकल इजलासले व्यक्तिको नाममा रहेकोे जग्गा वदर गरी महानगरपालिकाको नाममा कायम हुने फैसला गरेको हो । २०७४ सालमा दर्ता गरिएको २१५३ नम्बरको मुद्दाको बुधबार फैसला भएको हो ।
वीरगन्ज महानगरपालिकाको जग्गा अरुण कुमार अग्रवालले व्यक्तिको नाममा दर्ता गरी २०७४ फागुन २९ गते रसिद नम्बर ४०९५ को दर्ता लिखत पारित गर्न दिएको निवेदन समेत अदालतले वदर गरिदिएको छ ।
वीरगन्ज महानगरपालिकाले उक्त जग्गाको जालसाजी, राजिनामा लिखत वदर तथा अवहेलना गरी चारवटा मुद्दा दर्ता गरेकोमा पर्सा जिल्ला अदालतका न्यायधीश माधव मैनालीको इजलासले अवहेलना, जालसाजी र राजिनामा लिखतमा भने दावी नपुगेको भन्दै वदर गरेको पर्सा जिल्ला अदालतले जनाएको छ ।
मुद्दाको फैसला महानगरपालिकाको पक्षमा आएपछि अब महानगरपालिकालाई थप सार्वजनिक जग्गाहरुको समेत खोजी गरी कानूनी उपचारमा जाने मार्ग प्रशस्त भएको छ । व्यक्तिको नाममा गरेका सार्वजनिक जग्गाहरु महानगरपालिकाले खोजी गरी आवश्यक कानूनी उपचार मार्फत महानगरपालिकाको नाममा कायम गर्ने कार्यलाई निरन्तरता दिने महानगरपालिकाले जनाएको छ । महानगरपालिका क्षेत्रभित्र अझै थुप्रै यस्ता सार्वजनिक जग्गाहरु व्यक्तिको नाममा गरिएको अनुमान गरिएको छ । त्यस्ता जग्गाहरुको खोजी भईरहेको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।
अब वीरगन्ज महानगरले सबै प्रकारका सार्वजनिक जग्गाहरु खोजबिन गर्ने पनि वीरगन्ज महानगरपालिकाका प्रेस सल्लाहकार गोबिन्द देवकोटाले जानकारी दिए ।
