दाङ । दाङमा १७ लाख बराबरका सुनचाँदीका गरगहनासहित दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ वनकट्टा घर भई घोराही उपमहानगरपालिका वडा नं. १५ दिपशिखा रोडमा डेरा गरी बस्ने २५ वर्षीय प्रकाश डाँगी र भारतको उत्तर प्रदेश जिल्ला बलरामपुर तुलसीपुर थाना घर भई डाँगीसँगै बस्ने ३५ वर्षीय पंकजकुमार गुप्ता छन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले उनीहरू दुबै जनालाई गोप्य सूचनाका आधारमा घोराही ३ गोग्ली भन्ने स्थानबाट बिहीबार राति पक्राउ गरिएको जानकारी दिए।
अवैध रूपमा सुनचाँदीको ओसारपसार र कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट १७ लाख बराबरको सुनचाँदीका गरगहना बरामद भएको डिएसपी रिजालले बताए।
पक्राउ परेका व्यक्तिमध्ये डाँगीको साथबाट चार वटा सुनका बाला बरामद भएको र त्यसको तौल गर्दा दुई सय आठ ग्राम ३२ मिलिग्राम रहेको डिएसपी रिजालले जानकारी दिए।
डाँगीबाट बरामद भएको सुनका बालाहरूको हाल बजार मूल्य १६ लाख ६९ हजार ९ सय बढी पुग्ने उनले बताए।
त्यस्तै, गुप्ताको शरीर खानतलासी गर्ने क्रममा एक किलो पाँच सय १५ ग्राम ३६ मिलिग्राम चाँदीका पाउजू बरामद भएको प्रहरीले बताएको छ। जसको बजार मूल्य ५१ हजार चार सय बढी रहेको प्रहरीले जनाएको छ।
