भारतीय तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई घाइते

काठमाडौं। पर्सामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको छ। पर्साको ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको पर्सा प्रहरीले जनाएकाे छ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन गरिरहेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा भएको झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएको प्रहरीको भनाइ छ।

सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको सयुँक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीलाई आक्रमण गरेका थिए।

झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको ट्याक्टर समेत भारतीयले लिएर गएको बताइएको छ।

ओरिया खोलाको नेपाली भुमी भएपनि भारतीय पक्षले आफ्नो भुमी भन्दै दाबी गर्दै आएको छ। साथै उक्त क्षेत्रमा वर्षेनी नेपाली नागरिक र भारतीयबीच झडप तथा विवाद हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *