शौच गर्न जाँदा बलात्कृत

विराटनगर । रातको समयमा शौच गर्न निस्किएकी बालिकामाथि सामूहिक बलात्कार गरिएको छ। सोमबार राति मोटरसाइकलमा आएका दुई युवाले अपहरणपछि १४ वर्षीया ती बालिकाको बलात्कार गरेका प्रहरीले जनाएको छ।
घटनास्थल मोरङको जहदा गाउँपालिका–१ नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत पर्छ। उक्त ठाउँ बालिकाको घरभन्दा करिब डेढ किलोमिटर पर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए। राति करिब ९ः३० बजेतिरजबरजस्ती मोटरसाइकलमा लैजाँदै गरेको देखेपछि छिमेकीले परिवारका सदस्यलाई जानकारी दिए। छोरी घर नफर्किएपछि करिब ११ बजेतिर हल्लाखल्ला गर्दै अभिभावक र स्थानीय बासिन्दा खोजीमा निस्किए। तर फेला पार्न सकेनन्।

त्यसको दुई घण्टापछि बालिका अत्तालिँदै घर आइपुगिन्। स्थानीय वीरेन्द्र राजवंशीका अनुसार मोटरसाइकलमै ल्याएर बालिकालाई घरनजिक छाडिदिएपछि बलात्कारी भागेका थिए। बालिका निक्कै डराएकी, आत्तिएकी र मानसिक रूपमा विक्षिप्त अवस्थामा रहेकी थिइन्। पछि बालिकाले आफूमाथि बलात्कार भएको सुनाएकी थिइन्।

प्रहरीले घटनाराति १ बजेतिर मात्रै थाहा पायो। खोजी गर्दा बलात्कारमा संलग्न फेला नपरेपछि मात्र आफन्त र स्थानीयले नै ढिलो गरेर घटनाका बारेमा प्रहरीलाई जानकारी दिएका डीएसपी थापाको भनाइ छ। त्यसपछि खोजी थालेको प्रहरीले पनि बलात्कारमा संलग्न युवालाई फेला पार्न सकेन। अन्नपूर्णपोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *