दुई सन्तान सहित आमा बेपत्ता

सिन्धुली । दुई सन्तानसहित घरबाट निस्केकी एक महिला चार दिनपछि सुनकोसी नदीकिनारमा मृत भेटिएकी छन्।
उनले सँगै लगेका १३ वर्षीया छोरी र ८ वर्षीय छोरा भने अझै बेपत्ता छन्।
यही घटनाले सिन्धुलीको गोलन्जोर गाउँपालिका—१ डुँडभन्ज्याङ गाउँ शोकमा डुबेको छ। चरम गरिबी सहन नसकेर स्थानीय देवकी नेपाली छोरी सुस्मिता र छोरा सुजनसहित घरबाट बाहिरिएकी थिइन्।
मजदुरी गरेर सन्तानको हेरचाह र हातमुख जोर्दै आएकी ३३ वर्षीया देवकीको शव सुनकोसी नदीमा डुबेर मृत अवस्थामा भेटिएको हो।

छोरी–छोराले लगाएका चप्पल भने नदीको किनारमा एकै ठाउँमा भेटिएको छ। देवकी गत शुक्रबार साँझ दुई सन्तानलाई लिएर घरबाट निस्किएकी थिइन्।
‘दैनिक मजदुरी गरेर परिवार चलाउँदै आएकी देवकीका पति गोपाल नेपाली पनि सँगै मजदुरी गर्छन्। तर, गोपालले अत्यधिक मदिरा सेवन गरेर घर व्यवहार नहेर्ने भएपछि गरिबीको चरम पीडामा परेकी देवकीले आत्महत्या नै गरेको गाउँलेको अनुमान छ,’ स्थानीय शंकर बरालले भने।

देवकीका पति आइतबारदेखि नै बेहोस छन्। वृद्धा सासू, ससुराको होस ठेगानमा छैन। देवकीका माइती भेला भएका छन्। सुस्मिता र सुजनका साथीहरूको पनि आँखाबाट आँसु थामिएको छैन। ‘दुःख गरेरै भए पनि परिवार चलाउँदै आएकी बहिनीले सन्तानसहित नदीमा हाम फालेर प्राणत्याग गरिन्,’ दाजु दीपक नेपालीले भने।
देवकीले घर छाड्ने दिन साँझ रक्सी खाँदा घर व्यवहार चलाउन मुस्किल भएको भन्दै पति गोपालसँग सामान्य भनाभन भएको बरालले बताए।
सुस्मिता कामदा माविमा कक्षा ७ मा पढ्थिन्। छोरा सुजन स्थानीय प्रावि च्याकुटारमै पढ्थे। बेपत्ता सुस्मिताले होमवर्क कपीमा गरिबीको पीडा र अभाव देखाउँदै नोट लेखेको पाइएको छ।
सुस्मिताले आपूmले धेरै पढेर प्रहरी बन्ने र बलात्कारीहरूलाई कडा कारबाही गर्ने सपना बोकेको भए पनि सबै पूरा गर्न नसकेको भन्दै घरपरिवार, मावली र साथीभाइलाई सम्झना पत्र लेखेकी छन्। ‘मैले मेरो सपना पूरा गर्न सकिनँ, म र मेरो परिवारमा धेरै अभाव र पीडाहरू बढ्दै गए। अब म सदाका लागि बिदा हुँदैछु। मेरा सम्पूर्ण आफन्तसँग भेट हुने दिन यतिनै हो,’ उनले कपीमा लेखेको बरालले सुनाए।

प्रहरीले पनि देवकीले गरिबीकै कारण जीवन त्याग गरेको अनुमान गरेको छ। बेपत्ता सुजन र सुस्मिताको खोजी भइरहेको सिन्धुलीका प्रहरी प्रवक्ता श्यामबहादुर खत्रीले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *