भागरथी हत्या प्रकरणः नजिकका व्यक्तिमै शंका छ : प्रहरी

काठमाडौं । बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको दायरामा राखेको छ ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा चिनजानका, आफन्त र स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यस नजिक सम्पर्क भएका फोनलाई समेत अनुसन्धानको दायरामा ल्याइएको जनाएको छ ।
‘घटनाको अनुसन्धानका लागि क्लोज रिङ बनाइएको छ, त्यसमा चिनजानका, नजिकका आफन्त र स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यसनजिक सम्पर्क भएका फोनलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले भने, ‘घटनायता अहिलेसम्म दुई दर्जन बढी व्यक्तिसँग सोधपुछ गरेका छौं, उनीहरूलाई निगरानीमा नै राखिएको छ ।’

विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदको ‘क्लोज रिङ’ बनाइएको उनले जनाएका हुन् । भागरथीले भारतीय र नेपाली सिमकार्ड प्रयोग गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले भारतमा बस्दै आएका आफन्तसँग कुरा गर्न भारतीय सिमकार्ड प्रयोग गरेको हुन सक्ने र त्यसतर्फ अनुसन्धान आवश्यक परे भारतीय प्रहरीको सहयोगसमेत लिइने प्रहरी बताउँछ ।
प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही फोन आएको तर उनले फोन ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको देखिएको छ ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायण अधिकारीको कमान्डमा सुरुदेखि नै प्रहरी टोली परिचालन हुँदै आएको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलबाट एसएसपी जनकराज पाण्डेको नेतृत्वको टोलीसमेत खटिएको छ ।

यसैगरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ भने घटनाको सूक्ष्म अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको समेत साथ लिँदै अनुसन्धानलाई अघि बढाएको सुदूरपश्चिम प्र्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सिंहले जानकारी दिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तम सुवेदीसमेत आइतबार घटनास्थल पुगेका थिए । उनी हालसम्म बैतडीमै छन् । राजधानी दैनिकबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *