भद्रपुर (झापा)। अनलाइनबाट चिट्ठा परेको भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। उनले चिट्ठामा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्ने भन्दै लाखौँ ठगी गरेको प्रहरीले बताएको छ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–९ का २९ वर्षीय पंकज पौडेली विक रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जनाकारी दिए। उनले विभिन्न व्यक्तिलाई विभिन्न बैंकहरूको खाता नम्बरमा पैसा हाल्न लगाएर लाखौँ ठगी गरेका अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। पीडितहरूले महानगरीय अपराध महाशाखा काठमाडौंमा जाहेरी दिएका थिए।
महाशाखाले दिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले उनलाई बिर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट पक्राउ गरेको हो। उनलाई खानतलासी गर्दा लाखौँ नगद र अन्य सरसामान समेत फेला परेको छ।
उनले बोकेको झोलाबाट नगद तीन लाख ५६ हजार ७१० रुपैयाँ, कोठाको दराजभित्रबाट दुई लाख ८ हजार २०० रुपैयाँ, घर पछाडिको गोठमा गोबरको थुप्रोभित्र राखिएको कालो रंगको झोलाभित्र नगद आठ लाख ३० हजार ३०५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका अपराध महाशाखा काठमाडौँ पठाइसकेको डिएसपी थापाले बताए।
