गोरखा । गोरखाको एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षिया बालिकालाई बलात्कार आरोपमा सोही विद्यालयमा कक्षा ६ मा पढ्ने १३ वर्षका एक किशोर पक्राउ परेका छन्।
गोरखा सदरमुकाम नजिकैको उक्त विद्यालयमा गत माघ २० गते बेलुकीपख उक्त घटना भएको भन्दै पीडितकी आमाले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी थिइन्।
उक्त जाहेरीका आधारमा विद्यालयका छात्रलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक सुरेन्द्र गुरूङले किटानी जाहेरीका आधारमा किशोरलाई पक्राउ गरी जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरिसकिएको बताए।
माघ २० गते विद्यालयमा पढाइ सकिएपछि अपरान्हतिर ती किशोरले बालिकालाई शौचालयमा लगेर जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख रहेको पनि उनले बताए।
‘शौचालयमा लगेर जवरजस्ती करणी गरेको भन्ने बयान दिएको छ। जाहेरी पनि आएको छ,’ उनले भने, ‘किशोरलाई पक्राउ गरेर मुद्दा दर्ता गरिसकियो। बाल हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।’
छोरीलाई जवरजस्ती गरेको भन्दै आमाले गत माघ २२ मा प्रहरीमा जाहेरी दिएकी थिइन्। बालिकालाई गोरखा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
