काठमाडौं । भारतको बिहारमा एक जना १२ वर्षीया नेपाली बालिकाको बलात्कार पछि हत्या भएको छ। बिहारको पूर्वी चम्पारण जिल्लामा ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको बिबिसी हिन्दीले जनाएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका–३ का एक जना नेपालीको परिवार मजदुरीका लागि त्यहाँ गएको र सात वर्षदेखि उनीहरू मोतिहारीको कुन्डवा चैनपुरमा मजदुरी गर्थे । २१ जनवरीमा उनका बुवा मजदुरी गर्न गएका थिए भने दाइ कामको शिलशिलामा बजार गएका थिए । साँझ चार बजेतिर डेरामा फर्किन लागेका दाइलाई घरबेटी सियाराम साहले रोक्न खोजे । उनी नरोकिएर डेरामा पुग्दा बहिनी घाइते भएर लडिरहेको देखे । बहिनीको यस्तो हालत देखेपछि उनले बुवालाई खबर गरे । काम छोडेर उनी तत्काल डेरामा आए । मेरी छोरी भुइँमा लडिरहेकी थिई । उसको घाँटीमा रातो दाग थियो । मैले उसलाई उपचार गर्न स्थानीय डाक्टरहरूकहाँ लगे तर कसैले उपचार गर्न मानेनन्, उनका बुवाले घटनाको १२ दिनपछि प्रहरीलाई दिएको निवेदनमा भनिएको छ ।
उपचार नपाएपछि ती बालिकाको मृत्यु भयो । मृत्युपछि गाउँका युवाहरू भेला भए । पीडितका बुवाका अनुसार प्रहरी अधिकारीको मिलेमतोमा उनीहरूले छोरीको लास जबरजस्ती जलाउन लगाए ।
स्थानीय देवेन्द्रकुमार साहले बालिकाको शव तत्काल नजलाए बाबु र छोरालाई पनि मारेर लास नेपाल फालिदिने धम्की दिएको निवेदनमा उल्लेख छ । शव जलाउनुअघि पीडितका बुवालाई उनीहरूले खाली कागजमा साइन गर्न पनि लगाएका थिए । ‘राति १२ बजे छोरीको लासमा नुन र चिनी छर्केर जलाइयो । अर्को दिन बिहान मलाई नेपालतिर पठाइयो,’ उनको निवेदनमा भनिएको छ ।
प्रारम्भिक अनुसन्धान र केही दिनअघि लिक भएको एउटा अडिओले उक्त घटनामा स्थानीय प्रहरी चौकीका प्रमुखले सघाएको खुलेको छ । पूर्वी चम्पारणका एसपी नवीनचन्द्र झाले बिबिसीसँग भनेका छन्भा–इरल भएको अडिओबाट थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही र कर्तव्यहिनता स्पष्ट हुन्छ । उनलाई निलम्बन गरिएको छ र उनीविरूद्ध एफआरआई दर्ता भएको छ । भाइरल भएको अडिओमा सञ्जीवकुमारले एक जना अभियुक्तलाई ‘केटीको लासको व्यवस्था गरिदेऊ र चिसोका कारण मृत्यु भएको प्रहरीलाई रिपोर्ट लेखाइदेऊ’ भनेका छन् ।
घटनाको १२ दिनपछि प्रहरीमा परेको उजुरीमा ११ जनालाई अभियुक्त बनाइएको छ । अहिलेसम्म २ जना अभियुक्तलाई पक्राउ गरिएको छ ।
