भागरथी हत्याको विरोधमा तीन दिन शैक्षिक हड्ताल

बैतडी ।
बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल गरिएको छ । विद्यालयबाट घर फर्किरहेका बेला बाटोमा बीभत्स रुपमा हत्या भएको विरोधमा ३ दिन शैक्षिक हड्ताल गरिएको छ ।
संघर्ष समिति गठन गर्दै ३ दिनका लागि शैक्षिक हड्ताल गरिएको संघर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिए। आइतबारदेखि मंगलबारसम्म ३ दिन गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्दै शैक्षिक हड्ताल गरिएको हो ।
संघर्ष समितिले गरेको शैक्षिक हड्तालअनुसार नै गाउँपालिकाका सबै विद्यालय बन्द रहेका सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेब नाथले जानकारी दिए । विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भए पनि शान्तिपूर्ण रुपमा पठनपाठनको वातावरण बन्न नसकेको उनका भनाइ छ ।
संघर्ष समितिले पहिलो चरणमा ३ दिन शैक्षिक हड्ताल गर्ने, माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र माघ २९ गते आमहड्ताल गर्ने घोषणा गरेको छ । यसअघि शुक्रबार र शनिबार पनि आफन्त र स्थानीय बासिन्दाले महाकाली राजमार्गमा चक्काजाम गर्नुका साथै प्रदर्शन गरेका थिए ।
माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीबार घरनजिकै रहेको लबलेक जंगलमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
मृतक किशोरीको शनिबार माघ २४ गते शव परीक्षण सम्पन्न भए पनि रिपोर्ट आउन बाँकी रहेको छ । अस्पताल स्रोतले भने बलात्कारपछि हत्या भएको बताउँदै आएको छ । आफन्तले जिल्ला अस्पतालमा रहेको किशोरीको शव बुझ्न मानेका छैनन् ।
घटनाको सत्यतथ्य छानविन गरी वास्तविक दोषीलाई गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न माग गर्दै शव नबुझेको भागरथीका काका शिवराज भट्टले बताए । ‘दोषी पत्ता नलाग्दासम्म शव बुझ्दैनौं’, उनले भने– ‘घटना भएको ४ दिन बितिसक्दा हत्यारा पत्ता लागेको छैन्, भागरथीको न्यायकै लागि शव नबुझेका हौं ।’
थप अनुसन्धानका लागि डीआईजी पनि घटनास्थलमा
घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेको छ । घटनालाई गम्भीरतापूर्वक लिएकाले थप अनुसन्धानका लागि सुवेदीको टोली पनि घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनले भने– ‘घटनाको सूक्ष्म अध्ययन र अनुसन्धानका लागि डीआईजी सापको टोली पनि आएको हो ।’
यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पगेर अध्ययन गरिररहेको छ । यसका साथै घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।
भागरथीको शव पोस्टमार्टमअघि नै भेजाइनल स्वाब संकलन गरी प्रहरीलाई बुझाएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए ।
यसै गरी अन्य आवश्यक प्रमाणहरू पनि संकलन भएका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीको भनाइ रहेको छ । ‘घटनामा संलग्नलाई पत्ता लगाउन प्रहरी लागिपरेको छ’, उनले भने– ‘घटनामा संलग्न आरोपितहरु अहिलेसम्म पक्राउ परेका छैनन्, अनुसन्धानकै क्रममा छौं ।’
किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकाले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ । मृतक किशोरी सनातन धर्म उच्चमाविमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन् ।
राजनीतिक दल एक ठाउँमा
भागरथी भट्टको न्यायका लागि जिल्लास्थित राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन् । सबै राजनीतिक दलहरुले हत्यारालाई पत्ता लगाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
माघ २१ गते विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी भागरथी माघ २२ गते साँझ घरनजिकै रहेको लबलेक जंगलमा बीभत्स अवस्थामा फेला परेकी थिइन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानविन गर्न माग गरेको छ । अध्यक्ष सुरेन्द्र पालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ । नेकपाकै प्रचण्ड–माधव समूहले घटनाको निन्दा गरेको छ । सचिव प्रेमप्रकाश भट्ट आदित्यले एक विज्ञप्ति जारी गर्दै सरकारले यो घटना सत्यतथ्य रुपमा बाहिर ल्याउनुपर्ने माग गरेका छन ।
नेपाली कांग्रेसले पनि यो घटना निकै संवेदनशील रहेकाले यथाशीघ्र दोषी पत्ता लगाई सार्वजनिक गर्न अपिल गरेको छ । जिल्ला सचिव प्रेम चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले यो घटनाप्रति गम्भीर हुनुपर्ने जनाएको छ । सरकारले सुरक्षा दिन नसकेका कारण यस्ता घटनाहरु बढिरहेको समेत कांग्रेसको आरोप छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष इन्द्रदेवशरण भट्टले पनि एक विज्ञप्ति जारी गर्दै दोषी पत्ता लगाउन माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *