काठमाडौं । नेपाली व्यङ्ग्य चित्र क्षेत्रमा महत्वपूर्ण योगदान दिएका अग्रज कलाकार टेकवीर मुखिया र प्रा रामकुमार पाँडे सम्मानित भएका छन् । साधारणसभाको अवसर पारेर नेपाल कार्टुनिस्ट क्लबले हरेक वर्ष प्रदान गर्दै आएको ‘बराथा स्मृति सम्मान’ २०७५ र २०७६ क्रमशः मुखिया र पाण्डेलाई दिइएको हो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाली कार्टुनलाई आजको अवस्थासम्म ल्याई पुर्याउन मुखिया र पाँडेले विशिष्ट योगदान दिएको बताए । उनले कार्टुन कला समाजलाई जनचेतना जगाउने महत्वपूर्ण विधा रहेको जिकिर गर्दै यसको विकास, प्रवद्र्धन तथा संवद्र्धनका काममा प्रतिष्ठानले सक्दो सहयोग गर्ने विचार व्यक्त गरे ।
कुलपति कर्माचार्यले संसारमै कार्टुन कलाको महत्व झनै बढेर गएको बताउँदै भने, “पछिल्लो समय समाजलाई जागरुक बनाउन पनि यसको भूमिका अझै बढेर गएको छ ।” उनले नेपालमा अहिले पत्रपत्रिकाले कार्टुनलाई विशेष स्थान दिएको बताए ।
प्राज्ञ रमेश खनालले कार्टुन समाज चिहाउने आँखा भएको बताए । कलाकार जीवन राजोपाध्यायले कार्टुनको शक्तिले समाजलाई झक्झकाउने जिकिर गर्दै यसको विस्तारमा प्रतिष्ठान र क्लबले अझै काम गर्न बाँकी रहेको बताए । कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले कार्टुनको विकासका लागि अझै प्रभावकारी काम गर्नुपर्ने विचार व्यक्त गरे ।
कलाकार टेकवीर मुखियाले शक्तिले समाजलाई जागरुक बनाउन मद्दत गर्ने बताए । कार्टुनिष्ट अविन श्रेष्ठले नेपाली कार्टुनको प्रभाव देशव्यापीरुपमा फैलिँदै गएको बताए ।
साधारणसभाले वासु क्षितिजको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल आर्ट काउन्सिलमा भएको सभाले उपाध्यक्षमा देवेन्द्र थुम्केली, महासचिवमा रवि मिश्र, सचिवमा भानु भट्टराई, कोषाध्यक्षमा रवीन्द्र मानन्धर तथा सदस्यका योगेशकुमार खपाङ्गी, दीपक गौतम, रामकृष्ण थापा, उमेशचन्द्र अधिकारी र सुजिता महर्जन रहेका छन् । साढे दुई दशकदेखि कार्टुन क्षेत्रमा सक्रिय क्षितिज हाल अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत छन् ।
यसअघि दुई कार्यकाल क्लबको अध्यक्षमा कार्टुनिष्ट अविन श्रेष्ठले नेतृत्व गरेका थिए । विसं २०५६ मा स्थापित क्लब लामो समयसम्म निष्क्रिय रहेपछि श्रेष्ठले विसं २०७० मा कार्यभार सम्हालेका थिए ।
