काठमाडौं । पशुपति क्षेत्रस्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको उमाकुण्ड जीर्ण हुँदै गएको छ ।
संरक्षणको अभावमा उमाकुण्डमा पानीको स्रोत समेत सुक्न थालेको छ। वराह पुराण लगायत ग्रन्थमा सत्ययुगमा भगवती उमाले महादेव स्वामी पाऊँ भनी यहाँ तपस्या गर्नुभएकाले यसको नाम उमाकुण्ड रहेको उल्लेख छ।
उमाकुण्डको उत्तरतिरको भाग बग्दै गएपनि यसको संरक्षण हुन नसकेको नित्य यज्ञ गर्न भागवत सन्यास आश्रम एवं गुरुकुलबाट खटिनुभएका ब्राह्मण कमल गौतमले जानकारी दिए।
उमाकुण्ड संरक्षण एवं जीर्णोद्धारका लागि विसं २०७५ देखि तीन वर्षको अवधिमा पशुपति क्षेत्र विकास कोषमा पाँच वटा निवेदन मैले नै दर्ता गरिसकेँ, काम भएन, गत असारमा पनि पहिरो गयो, हामीले नै पर्खाल लगाएर टेको दिएका छौँ।’उनले भने।
पशुपतिनाथको मूल मन्दिरको वायव्य कोणमा रहेको उमाकुण्ड शिव पाञ्चायन अनुसार निर्माण भएको विश्वास गरिन्छ।
पुरातात्विक महत्वको उमाकुण्डमा वास्तु विपरीत इशान कोणमा शौचालय निर्माण गरिएको छ।
इशान कोणमा निर्माण गरिएको शौचालय पनि जीर्ण बनेको छ । तीन वटा शौचालयमध्ये दुईवटा जीर्ण भएर छिर्न नसकिने भएपछि बन्द गरिएको छ।
एउटा शौचालय भने उमाकुण्डमा विसं २०१६ देखि विधिवित् यज्ञ सञ्चालन गर्दै आएको स्वर्गद्वारी आश्रमको सक्रियतामा निर्माण गरेर सञ्चालन भइरहेको छ।
