काठमाडौं । अध्यागमन विभागले तोकेको डकुमेन्टहरु सम्बन्धित देशको भिसा, दुईतर्फी टिकट, होटल बुकिङ र एक हजार डलर लिएर अस्मिता श्रेष्ठ माघ १८ गते भिजिट भिसामा दुबई जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन । नेपाल एयरलाइन्समार्फत घुम्नका लागि दुबई जान लागेकी अस्मिताले एयरलाइन्सबाट बोडिङ पास त पाइन् तर अध्यागमन विभागले भने घुम्ने प्रयोजन नदेखिएको भन्दै फिर्ता गरिदियो ।
जहाज अरु यात्रुु लिएर उड्यो तर उनी भने जान पाईनन् ।
सो जहाज चढेर भिजिट भिसामा दुबई जानेको लाइनमा अस्मिता मात्रै नभई अरु पनि थिए तर अलि फरक तरिकाले विमानस्थल पुगेकी थिईन उनी । भिजिट भिसामा कुनै देश जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ गर्नुपर्छ भन्दै उनलाई दलालले बाहिर नभनेका पनि होइनन् । त्यसैले उनी अध्यागमन विभागले तोकेको डकुमेन्ट मात्रै होइन भ्रमणको उद्देश्य खुल्ने अन्य डकुमेन्टसमेत लिएर विमानस्थल पुगेकी थिईन् ।
अध्यागमनले तोकेकोभन्दा धेरै डकुमेन्ट बोकेर विमानस्थल पुगेकी श्रेष्ठलाई रोकियो तर त्यत्ति डकुमेन्ट पनि नबोकी विमानस्थलमा पुगेका अन्य साथीहरूले भने सरासर बोडिङ पास पाउँदा उनलाई आश्चर्य लाग्यो र बाहिर दलालले भनेको कुरा याद गर्दै साच्चिकै सेटिङ हुने कुरा मनन गर्दै विमानस्थलबाट बाहिरिइन । त्रिभुवन विमानस्थलबाट भिजिट भिसाको यात्रा बोडिङ पास पाउनका लागि च्यानल मिलाउनुुपर्छ भन्ने अस्मिता मात्रै उदाहरणीय पात्र हाेइनन् ।
नर्सको इन्टर्नसिप गर्न सबै डकुमेन्ट बोकेर उनी विमानस्थल पुगेकी थिइन् । त्यति मात्र होइन एक हप्ताका लागि इन्टर्नसिप खुल्ने काठमाडौंमा रहेको सलिना होम क्यारले दिएको पत्र र दुबईमा रहेको रिसल्ला होम क्यारमा दिएको पत्रसमेत उनको साथमा थियो । नर्स भएको प्रमाणपत्रसँगै भिजिटको उद्देश्य खुल्ने अन्य कागजपत्र हुँदा भ्रमणको उद्देश्य नदेखिएको भन्दै पत्र दिएर किन फिर्ता गरियो भन्ने प्रश्नमा अध्यागमन महानिर्देशक रमेशकुमार केसीले भिजिटमा भिसामा डकुमेन्टसँगै कर्मचारीले विवेक प्रयोग गर्नु भन्ने शब्दले यस्ता समस्या बेलाबेलामा आउने गरेको बताए । उनले भने- ‘विवेक प्रयोग गर्नु भन्दा यस्तो भएछ उहाँलाई अब रोकिने छैन ।’ दुई दिनअगाडि त्यही डकुमेन्टले बोडिङ पास नपाएकी अस्मिता श्रेष्ठले भने दुई दिनपछि अर्थात् माघ २० गते पुनः अर्को बोडिङ पास लिएर त्यही विमानस्थलबाट दुबई प्रस्थान गरिन् ।
महानिर्देशक केसीले भिजिट भिसामा यात्रा अनुमतिपत्र बोडिङ पास दिँदा गरिने विवेक प्रयोगले यस्ता समस्या आउने गरेको भन्दै यसको अन्त्यका लागि काम भइरहेको बताए । उनले भने- ‘यो विवेक प्रयोगले हामीलाई समेत हैरान पारेको हुँदा डकुमेन्ट पूरा गरेका जोसुकैले बोडिङ पास लिन सकिने व्यवस्था गर्न लागेका छौँ ।’ उनले डकुमेन्टमा भिजिट भिसाको बिमाको कागज थप हुने जानकारी दिए । यो नियमको लागि सबै प्रक्रिया पूरा भएको र एक हप्ताभित्र यो नयाँ नियम आउने उनले बताएकाे खवर नेपाल समाचारपत्रमा छ । नयाँ नियम आएसँगै भिजिट भिसामा देखिएका हालका समस्य समाधान हुने महानिर्देशक केसीको बुझाइ छ ।
