इलाम । पूर्वी इलामको माईजोगमाई गाउँपालिका–५ सोयाङ शोकमग्न बनेको छ । एकै घरका दुई दाजुभाइको एकैसाथ मृत्यु भएपछि परिवार मात्र होइन सिंगो गाउँ नै शोकमग्न बनेको हो । सोमबार सोयाङका ढकाल दाजुभाइको खोलामा डुबेर एकैसाथ मृत्यु भएपछि गाउँमा सन्नाटा छाएको छ ।
इलाम नगरपालिकास्थित सिङफ्रिङको फेदी र माईजोगमाई गाउँपालिका–५ सोयाङको सिमाना भएर बग्ने माईखोलामा पौडी खेल्ने क्रममा १८ वर्षीय प्रवीण ढकाल दहमा डुबेका थिए । दहमा भाइ डुबेको देखेर उनलाई बचाउन गएका उनका दाजु २१ वर्षीय शेखर ढकाल पनि दहमा डुबेपछि दुवै जनाको एकसाथ मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सो खोलामा माईबेनी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । उनीहरु दुवै दाजुभाइ सोही आयोजनामा काम गर्दै आएका थिए । सो खोलामा हाइड्रोले बनाएको खाल्डोमा प्रवीण पौडी खेल्न पुगेका थिए । मृतक दाजुभाइ सोयाङका डम्बरबहादुर ढकालका साइँला र कान्छा छोरा हुन् । मृतक दाजुभाइको शवलाई इलाम अस्पतालमा मंगलबार पोस्टमार्टम गरिएको छ ।
यता जिल्लाकै पश्चिमी माङ्सेवुङ गाउँपालिका–६ मावाखोला किनारमा एक वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको छ । सोही गाउँपालिकाको वडा नम्बर ६ मा करिब ६०÷६५ वर्षे पुरुषको शव फेला परेको हो । तराईबासी जस्तो देखिने मृतकको शवलाई पोस्टमार्टमका लागि झापाको दमक अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
