कमलपोखरी अतिक्रमण: जग्गा फिर्ता लिने प्रयास ३० वर्षमा सफल

काठमाडौँ । काठमाडौँको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाले कमलपोखरी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले कमलपोखरीलाई संरक्षण र सुन्दर राख्ने उद्देश्यका साथ यहाँका संरचना भत्काइएको स्पष्ट पारे ।

अतिक्रमणमा परेको कमलपोखरी जोगाउने प्रयास २०४३ सालमै गुठी संस्थानले सुरु गरेको थियो । संस्थानका प्रवक्ता सरोज थपलियाले भने– कमलपोखरीको किनार मिचेर बनाएका घरटहरा हटाउने सम्बन्धमा तत्कालीन राजा वीरेन्द्रबाट हुकुम प्रमाङ्गी भएको थियो । सोहीअनुसार राजाका प्रमुख सचिव रञ्जनराज खनालले सरकारका मुख्य सचिव कर्णध्वज अधिकारीलाई तीन महिनाभित्र कारबाही सम्पन्न गर्न निर्देशन दिएका थिए, अहिलेसम्म केही भएन ।

सरकारका तत्कालीन मुख्य सचिव अधिकारीले अवकाश हुनुअघि कमलपोखरीको जग्गा व्यक्तिलाई दर्ता गराउन सहयोग गर्ने कर्मचारीलाई कारबाही गर्न दिएको निर्देशन अहिले पनि गुठी संस्थानसँग सुरक्षित छ । “विसं २०३८ मङ्सिर २ गते कमलपोखरीको जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि व्यक्तिको लगत कट्टा गरेर कमलपोखरीको नाममा जग्गा कायम गर्न निर्देशन दिएको हो तर भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयबाट यो फाइल कारबाहीका लागि अगाडि बढ्नै सकेन,” प्रवक्ता थपलियाले भने ।

कमलपोखरीको कुल ४८ रोपनी जग्गामध्ये चार रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको अभिलेख संस्थानसँग छ । तत्कालीन राजा प्रतापसिंह शाहले नक्साल नन्दीकेश्वरमा कमलको फूल चढाउने गरी कमलको बीउ रोपेपछि यो कमलपोखरी नामले चिनिन थालेको समाचार गोरखापत्रमा छापिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *