USAID

विप्लव समूहप्रति नरम बन्दै सरकार


काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रमचन्द विप्लव नेतृत्वका नेतालाई खानेपानीमन्त्री मणि थापाले जेलमै पुगेर भेट गरेका छन । मन्त्री थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई भेटेका हुन । मन्त्री थापाले आफू कारागारको खानेपानीसम्बन्धी अनुगमनका क्रममा पुग्ने क्रममा नेतावलीसँग भेटघाट भएको बताए।
संसद् विघटनको निर्णयपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा फुट आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहका नेतालाई आफ्नो पक्षमा तान्ने प्रयास गर्दै आएका छन। त्यसै गरी प्रधानमन्त्री ओलीले सरकारद्वारा प्रतिबन्धित भूमिगत विप्लव समूहलाई मूल धारमा ल्याउन संवादको प्रयास अगाडि बढाएको छ ।
प्रधानमन्त्रीको आग्रहमा मन्त्री थापाले वलीलाई भेट गरेको बताइएको छ । सरकारले विप्लव समूहमाथि गत २९ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । विप्लव समूहले वार्ताका लागि पहिले प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अगाडि सारेको छ । साथै उक्त समूहले हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाड्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र पठाए छलफलमा बस्न तयार रहेको विप्लव समूहका महासचिव चन्दले सन्देश पठाएका छन । तर सरकारले भने विप्लव समूहले हिंसात्मक गतिविधि त्यागेको घोषणापछि मात्रै वार्ताको प्रक्रिया अडानमा रहेको छ ।
काभ्रेबाट ९ चैत २०७५ मा पक्राउ पर्नुअघि वली भूमिगत विप्लव समूहका मध्यकमान्ड इन्जार्च रहेका थिए । उहाँलाई महानगरीय अपराध महाशाखाले नख्खुमा एनसेल प्रालिको मुख्यालय अगाडि भएको विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । वलीलाई जिल्ला अदालत ललितपुरले १० वैशाखमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै उनलाई नख्खु कारागार चलान गरिएको थियो । अदालतले वलीसहित शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार भनिने ईश्वर दमाई र जुम्ली भनिने वीरबहादुर कठायतलाई थुनामा पठाउन आदेश भएको थियो । सरकार विप्लव समूहबीच वार्ताको तयारी भइरहेको बेला मन्त्री थापाले विप्लव समूहका नेतालाई जेलमै पुगेर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *