आयोगद्वारा पूर्वप्रमुख आयुक्तसँग छलफल

काठमाडौं । निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् ।
निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्वप्रमुख आयुक्तसँग छलफल गरेको थियो । सो छलफलमा पूर्वप्रमुख आयुक्तहरूले दलहरूसँगको सहकार्य गरेर मात्रै निर्वाचनमा अघि बढ्न सुझाएका हुन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले निर्वाचनको तयारी र निर्वाचनका सन्दर्भमा गरिरहेको कामबारे पूर्वप्रमुख आयुक्तहरूसँग छलफल गरेको जानकारी दिए । ‘निर्वाचनको तयारी र आयोगले गरेका कामका विषयमा पूर्वप्रमुख आयुक्तज्यूहरूलाई जानकारी गराइयो, उहाँहरूबाट समेत केही सुझाव आए,’ आयोगका प्रवक्ता श्रेष्ठले भने ।
छलफलमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले देशमा राजनीतिक मुद्दा पेचिलो बनिरहेको बेला राजनीतिक विषयको समाधान दलबाटै आउनुपर्नेमा जोड दिए । उनले राजनीतिक समस्याको समाधानपछि मात्रै निर्वाचनमा जान आयोगलाई सुझाए ।

त्यस्तै उनले आयोगलाई निर्वाचनको तयारीका सन्दर्भमा कुनै पनि राजनीतिक दलले असहयोग गर्न नहुनेमा जोड दिए ।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलले सुल्झाउनुपर्ने र आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए ।
मतपत्रको डिजाइन र पार्टी दर्ता नहुँदासम्म निर्वाचनको तयारी पूर्ण नहुने भन्दै उनले विभाजित मनस्थितिमा रहेका दलले पनि प्रक्रियामा गएर आयोगलाई सघाउनुपर्ने बताए ।
उनीहरूले आयोगलाई संयुक्त रूपमा निर्वाचन गर्नेबारे दलहरूसँग निरन्तर सर्वदलीय बैठक गर्न, चुनावी माहोल निर्माण गर्न र सरकारलाई चुनावी माहोल निर्माण गर्ने वातावरण बनाइदिन आग्रह गर्नुपर्ने सुझाए ।

छलफलमा पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, प्रमुख आयुक्त दिनेश थपलिया, आयुक्तहरू नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेल पनि सहभागी थिए ।

निर्वाचन आयोगले भने मतदाता अद्यावधिक कार्यक्रम सुरु भएको, मतदान स्थल पुनरावलोकनको काम जारी रहेको र आचारसंहिताको खाका बनाइरहेकोबारे जानकारी गरायो ।राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *