चुनाव गराउन संसद् विघटन गरिएको होइन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटन मध्यावधि चुनाव गराउनको निम्ति नभएको बताएका छन्।

सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको ‘संसद विघटन र प्रतिगमनको खतरा’ विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष केसीले मध्यावधि चुनाव गराउनको निम्ति संसद विघटन नगरिएको जिकिर गरेका हुन्।

चुनाव गराउने समय नै नभएको र चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर १७ साल ल्याउने खतरा भएको उनको आशय थियो। नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान् भए भने विदेशी शक्तिकेन्द्रहरुले हस्तक्षेप गर्न नसक्ने पनि उनले बताए।

समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेका बताए।

आफूहरुले संविधानको निर्माणकालमै संविधानको विरोधमा संविधान जलाएको भए पनि संविधानको रक्षाको निम्ति उभिनुपर्ने अवस्था आएको उनको भनाइ छ। यो संविधानमा भएका संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र मौलिक हकलाई टेकेर अघि नबढे प्राप्त उपलब्धि पनि गुम्ने भएकाले यो संविधानलाई टेकेर अघि बढ्नुपर्ने पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *