काठमाडौं । सरकारले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने निर्मल पुर्जा (निम्स) सहित १० आरोहीलाई सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार कीर्तिमानी आरोहीलाई सम्मान गरेको हो ।
दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ९ कार्यालयले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी आरोहीलाई सम्मान गरिएको हो । सो अवसरमा सञ्चारमन्त्री पार्वत गुरुङले सम्मान–पत्रसहित केटु आरोहण गर्ने कीर्तिमानी आरोहीलाई सम्मान गरे । उनीहरुलाई गौरीशङ्कर –९ कार्यालयले पनि छुट्टै सम्मानपत्र दिई सम्मान गरेको छ ।
सम्मानित हुनेमा पुर्जासँगै मिङ्माग्याल्जेन शेर्पा, मिङ्माडेबिड शेर्पा, मिङ्मातेञ्जिङ शेर्पा, पेमाछिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङ्मा जी, दावातेञ्जिङ शेर्पा र सोनु शेर्पा छन् । उनीहरुमध्ये सोनु शेर्पा आरोहणका क्रममा पाकिस्तानमा रहेकाले उपस्थित भएनन् ।
पाकिस्तान र चीनको सिमानामा रहेको केटु हिमाल (८,६११ मिटर) १० नेपाली आरोहीले माघ ३ गते स्थानीय समय साँझ ५ः१५ बजे आरोहण गरेका थिए ।
कार्यक्रममा सरकारका प्रवक्ता गुरुङले विश्वकै जोखिमयुक्त हिमाल केटुको सफल आरोहण गरेर नेपाली आरोहीले सिङ्गो देशको गौरव बढाएको बताए ।
उनले आरोहीको उद्गमस्थलका रुपमा पहिचान पाएको दोलखा जिल्लालाई समृद्ध र विकासको नमूना जिल्लाका रुपमा विकास गर्न आफूले प्रभावकारी योजना र कार्यक्रम ल्याउने जानकारी दिए ।
सम्मानितका तर्फबाट अनुभव सुनाउँदै मिङ्माग्याल्जेनले विश्वकै जोखिमपूर्ण हिमालको चुचुरामा पुग्नु जीवनकै अविष्मरणीय क्षण भएको जनाउँदै नेपालको शानलाई विश्वभर फिँजाउन पाएकामा गौरवान्वित भएको बताए ।
आरोहण टोलीका नेता पुर्जाले केटु आरोहणले नेपालको पहिचान र गौरवलाई थप उचाइमा पुर्याएको बताए ।
