सुकीलाई रिहा नगरे आवश्यक कदम चाल्छौं : अमेरिका

काठमाडौं।  अमेरिकाले म्यानमारको सैनिकले गरेको नेताहरूलाई गिरफ्तारीको विरोध गरेको छ।
राष्ट्रपति कार्यालय ह्वाइटहाउसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न गरिएको गिरफ्तारीको विरोध गरेको हो।

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रपति जो बाइडेनलाई म्यानमारको अवस्थाबारे ब्रिफिङ गरेका थिए।

‘बर्माका प्रजातान्त्रिक संस्थाहरूलाई हाम्रो बलियो साथ छ र त्यहाँको सेना र अरू सबै सरोकारवालाहरूलाई प्रजातान्त्रिक मूल्यमान्यतालाई पालना गर्न र आज नियन्त्रणमा लिइएका सबैलाई तत्काल रिहा गर्न माग गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।

गत नोभेम्बरको चुनावमा आएको परिणामलाई नमान्ने र बर्माको प्रजातान्त्रिक प्रक्रियालाई रोक्ने कुनै पनि कुरा आफूलाई अमान्य हुने ह्वाइटहाउसले उल्लेख गरेको छ।

‘हामीले परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं। लामो समयदेखि प्रजातन्त्र र शान्तिका लागि धेरै कुरा सहँदै आएका बर्मेली जनताको पक्षमा छौं,’ ह्वाइटहाउसको विज्ञप्तिमा भनिएको छ,‘ सेनाले अहिलेको कदम फिर्ता नलिए हामी आवश्यक कदम चाल्नेछौं।’

म्यानमारमा सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा गरेको छ।

सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो। गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *