सामाजिक सञ्जालको गलत प्रयोगले बलात्कारका घटना बढ्यो

काठमाडौ ।देशमा पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको एक अध्यनले देखाएको छ । पछिल्लो पाँच महिनामा देशभरबाट जबरजस्ती करणीसम्बन्धी प्रहरीमा १ हजार १ सय ७ उजुरी परेको तथ्यांकले देशमा बलात्कारको अवस्था भयाभय भएको देखाएको हो ।
पछिल्लो समय सामाजिक सञ्जालको गलत प्रयोग हुँदा बलात्कारका घटना बढ्दै गएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कँुवरले जानकारी दिए । ‘पहिले पहिले सामाजिक प्रतिष्ठाले गर्दा यस्ता उजुरी दिन डराउने गर्थे पछिल्लो समय जनचेतना बढेको हुँदा उजुरी दिने संख्या ह्वात्तै बढेकाले बलात्कारको घटना बढेजस्तो देखिएको हो’ –कँुवरको भनाइ थियो । उनले घटनाको अनुपातभन्दा उजुरी दिनेको अनुपात बढेको बताए ।
देशभरको तथ्यांक हेर्दा बलात्कृत हुनेमा ११ देखि १६ वर्षसम्मका बालिका बढी रहेको प्रवक्ता कुँवरले जानकारी दिए । उनका अनुसार साउनदेखि मंसिरसम्म मात्रै यस समूहका ४ सय २८ बालिका जबर्जस्ती करणीको सिकार बनेका छन् ।
त्यस्तै प्रहरीमा उजुरी परेको तथ्यांक हेर्ने हो भने एक वर्षमा मात्रै प्रदेश १ मा २७७, प्रदेश २ मा १६९, प्रदेश ३ मा १३०, प्रदेश ४ मा ८९, प्रदेश ५ मा १२४, प्रदेश ६ मा ६२, प्रदेश ७ मा १०७ र उपत्यकामा मात्रै ८९ गरी देशभर ११०७ जबरजस्ती करणी उजुरी परेका छन् ।
जसमा १० वर्षभन्दा मुनिका बालिका १३४, ११ देखि १६ वर्षसम्मका बालिका ४२८, १७ देखि १८ वर्षसम्मका बालिका १४४, १९ देखि २५ वर्षसम्मका महिला १८८, २६ देखि ३५ वर्षसम्मका महिला १३२, ३६ देखि ४५ वर्षसम्मका महिला ४२, ४६ देखि ५९ वर्षसम्मका महिला २४ र ६० वर्षभन्दा माथिका महिला १४ बलात्कृत भएको तथ्यांक नेपाल प्रहरीसँग रहेको छ ।
नेपाल प्रहरी पीडित मैत्री भएर अनुसन्धान गर्ने भन्दै प्रवक्ता कुँवरले पीडितलाई न्याय दिन आफूहरुको हरदम प्रयास हुने बताए । ‘पीडितलाई तत्काल राहत हुने गरी हामीले काम गरेका छौं’ –उनको भनाइ थियो । यस्ता घटनाको सत्यतथ्य छानबिन गर्न पनि नेपाल प्रहरी निरन्तर लागेको र आगामी दिनमा पनि लाग्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे ।
जबरजस्ती करणीविरुद्धको आवाजमा सबैभन्दा बढी पुरुषले बुलन्द गर्ने बताउनुहुन्छ राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त यशोधा तिमिल्सिना । शिक्षामा केही परिवर्तन गराउदै नैतिकता शिक्षालाई जोड दिने हो भने जबर्जस्ती करणीका घटनामा कमी आउन सक्ने उनको तर्क छ । नेपाल समाचारपत्रसँग कुराकानी गर्दै उनले भने– ‘हामी कानुन कार्यान्वयनभन्दा पनि निर्माणतिर बढी जोड दिएका छौं । अहिले कानुन निर्माणभन्दा पनि भएका कानुन कार्यान्वयनमा जोड दिनुपर्छ ।’ नेपाल समाचारपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *