कसैको लहडमा उपलब्धि समाप्त हुँदैनः अध्यक्ष नेपाल

धनगढी । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानसभामार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता समावेशिताजस्ता उपलब्धि कसैको लहडको भरमा समाप्त नहुने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार पार्टीद्वारा धनगढीमा आयोजित विरोधसभामा अध्यक्ष नेपालले इतिहासका पाङ्ग्रा फेरि पछाडि जान नसक्ने दावी गर्दै भने, “प्राप्त उपलब्धिको रक्षाका लागि जनताले हरेश खानुपर्ने आवश्यक छैन, तपाईँहरुको साथमा हामी छौँ ।”

पार्टी राम्ररी चलाउनका लागि पार्टीका तर्फबाट दिइएको सुझाव प्रधानमन्त्रीले नसुन्दा समस्या उत्पन्न भएको तर्क गर्दै उनले कुर्चीको तानातान तथा हानाथापका लागि पार्टीमा समस्या सिर्जना नभएको प्रस्ट पारे । नेपालले निर्मला बलात्कार घटनाका दोषीलाई दण्डित गर्न सरकारसँग माग गरे । भ्रष्टाचारलाई ढाकछोप नगर्न सुझाव दिँदै नेपालले कोरोनाको प्रभावकारी उपचार व्यवस्थापन गर्न तथा सुशासन अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये आफूहरुको पक्षमा ३०० सदस्य रहेको दाबी गर्दै उनले भने, “अर्को पक्षसँग १०० जना रहेकाले त्यो पार्टी नक्कली हो, जहाँ ३०० सदस्य छन् सूर्य चिह्न पनि त्यसकै हुन्छ ।” उनले जनता लोकतन्त्र र प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा रहेका बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *