सत्ताधारीद्वारा सङ्कट उत्पन्न गरी संविधानमाथि नै प्रहार : अध्यक्ष ठाकुर

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान अवस्थाको कारक सत्ताधारी दलको द्वन्द्व भएको बताएका छन् । राष्ट्रिय इञ्जिनीयर सङ्घको राष्ट्रिय भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै ठाकुरले सत्ताधारीद्वारा सङ्कट उत्पन्न गरी संविधानमाथि नै प्रहार हुने कार्य भएको आरोप लगाए ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि परेको सङ्कटकै कारण संसद् विघटन गर्न पुगेको आरोप लगाउँदै प्रधानमन्त्रीले सङ्कट उत्पन्न गरी आफूलाई ठूलो राष्ट्रवादी भन्न रुचाउने र संसद् पुनःस्थापना गर्नेलाई उनी ठूलो राष्ट्रद्रोही ठान्ने बताए ।

उनले सङ्घीय संरचना प्राप्त भए पनि शासन विभेद गर्नेहरूको हातमा भएकाले त्यसको प्रतिफल प्राप्त हुन सकेको नसकेको बताए । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जनताका लागि संविधान र व्यवस्था आउन नसकेका कारण देशमा पटक पटक समस्या उत्पन्न हुने गरेको बताए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले जनताको विश्वास गुमाइसकेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *