काठमाडौं । नेपालमा बर्डफ्लू देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्डफ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । केन्द्रीय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्डफ्लू भएको पुष्टि भएको हो ।
बर्डफ्लू पुष्टि भएपछि त्यो फार्म तथा आसपासमा रहेका १८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जानकारी दिएको छ ।
रोग अन्यत्र फैलन नदिन बर्ड फ्लू देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुलाई नष्ट गरिएको विभागले जनाएको छ । रोग देखा परेको क्षेत्रलाई निसङ्क्रमण गरिसकेको पनि विभागले जनाएको छ । विभागले नेपालमा बर्ड फ्लूको जोखिमलाई ध्यान दिएर रोग रोकथाम तथा नियन्त्रण सम्बद्ध निकायहरुलाई सतर्क अवस्थामा राखेको जनाएको छ ।

