कञ्चनपुर । कोरोना भाइरस सङ्क्रमणकाे जोखिमका कारण बन्द गरिएका चीन र भारततर्फका नाका खुल्न थालेका छन् । लकडाउनसँगै सरकारले बन्द गरेका नाका बिस्तारै खुल्न थालेका हुन् ।
गृह मन्त्रालयले ३० वटा नाका खोल्न परिपत्र गरे पनि केही नाका भने आवश्यक तयारी नपुगेको भन्दै खुलेका छैनन् । यसअघि सीमा नाका बन्द हुँदा सरसामग्री खरिद, आफन्त भेटघाट र खेतीपातीका काममा समेत असहज हुँदै आएको थियो ।
बाराको सिमरौनगढ र मटिअर्वा नाका शनिवार (भोलि) देखि मात्रै खोल्ने तयारी रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । यस्तै कञ्चनपुरको गड्डाचौकी नाका पनि आन्तरिक तयारी नपुगेका कारण खुलेको छैन । नाका नखुलेपछि भारत जान हिँडेका नेपालीहरु अलपत्र परेका छन् ।
सुरक्षाकर्मीले नाका नखुलेको बताएपछि आफूहरू अलपत्र परेको भारत जान हिँडेका राकेश मगरले बताउनुभयो । औपचारिक जानकारी नआएको भन्दै सीमा नाकामा खटिएका सुरक्षाकर्मीहरूले फर्काउन थालेपछि भारत जान हिँडेकाहरू सीमा नाकामै अलपत्र परेका हुन् ।
