निर्वाचन आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएकाले हामी आधिकारिकः अध्यक्ष नेपाल

पाँचथर । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताएका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले मंगलबार फिदिममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिकताको प्रश्न टुङ्गिएको बताउँदै भने “निर्वाचन आयोगले ४११ केन्द्रीय सदस्यलाई मान्यता दिएपछि त्यसको बहुमतका आधारमा हामी आधिकारिक नेकपा हौँ ।” चार सय ४१ को केन्द्रीय कमिटी र ४५ का स्थायी समिति आधिकारिक भएको र त्यसमा आफूहरुसँग बहुमत रहेको अध्यक्ष नेपालको भनाइ थियो ।

उनले संविधानको कुनै धारामा नटेकी प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय भएको जिकिर गर्दै यसबाट उक्त निर्णय अवैधानिक भएको र राजपत्रमा विधि सम्मतरुपमा प्रकाशन नभएको आरोप लगाए । सबैको असन्तुष्टि भएपछि प्रधानमन्त्रीलाई त्यसको कारण खोज्न सुझाव दिए ।

प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता र सहकार्य जारी हुन सक्ने बताउँदै अध्यक्ष नेपालले आफू कुनै पदको लोभ नगर्ने र समस्या नबन्ने बताए ।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री ओलीका कारण देशको अग्रगमन र समृद्धिमा बाधा परेको आरोप लगाए । शर्माले विगतदेखि नै एमाले र माओवादीबीच भएका सहमति र सहकार्यका आधारमा पार्टी एकता भएको बताउँदै नयाँ ढङ्गले पार्टी सङ्गठन निर्माण गरिने जानकारी दिए ।

त्यसैगरी ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको विरोधसभामा अध्यक्ष नेपालले निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको बताए ।

आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेको जनाउँदै उनी अध्यक्ष नरहेको नेपालले जिकिर गरे । जबज भनेको पार्टीको लोकतान्त्रीकरण, सामाजिक न्याय र प्रशासनको लोकतान्त्रिक भएको तर ओलीसँग त्यो सिद्धान्त नभएको नेपालले आरोप लगाए ।

स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पाथीभराको कोखबाट जन्मिएकाले आफू सधैँ सत्यको बाटामा हिँड्ने बताए । उनले प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्ने जिकिर गरे । उनले केपी शर्मा ओलीले विसं २०७४ को निर्वाचनमा ताप्लेजुङ आएर मत मागे पनि अहिले उनले प्रतिनिधिसभा विघटन गरेकाले समर्थन गर्न नसकिएको स्पष्ट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *