सिमकोट । मर्मतका लागि हुम्लाको हिल्दुम साना जलविद्युत् आयोजना बन्द हुने भएको छ । दैनिकजसो विद्युत् अपुग हुने र चुहावट हुँदै आएका कारण पुनःमर्मतका लागि विद्युत् आयोजना बन्द गर्न लागिएको हो ।
सदरमुकाम सिमकोट आसपासका गाउँ र खार्पुनाथ गाउँपालिकामा सेवा प्रवाह भएको विद्युत् एक दिनका लागि बन्दपश्चात् नियमित हुने हिल्दुम विद्युत् वितरण आयोजना कार्यालयका प्रमुख साजन ऐडीले जानकारी दिए। प्रमुख एडीले भने, “माघ १० गते शनिबार परेकाले सदरमुकाम अवस्थित कार्यालयलाई प्रभाव नपर्ने उद्देश्यका साथ हिल्दुम खोलामा रहेको पावरहाउस बन्द हुँदै छ ।”
सोही दिन बिहान ८ बजेदेखि कम्तीमा पनि दुईदेखि तीन घण्टासम्म मर्मत गर्न लाग्ने भएको ऐडीले बताए । उनका अनुसार मर्मत भएपश्चात् सोहीदिन बेलुका उक्त विद्युत् पुनःसञ्चालनमा आउने छ । हाल सदरमुकाम सिमकोटमा दैनिक दिन कम्तीमा ११ घण्टा विद्युत् भार कटौती हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् ।
