पाटनको ज्वाला नरसिंह मन्दिर जीर्णोद्वार हुने

ललितपुर । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर जीर्णाेद्वार हुने भएको छ । गोर्खा भूकम्पले सो मन्दिरका चार बुर्जा जीर्ण भएका छन् ।

मन्दिरको बीच भाग बाहिरबाट हेर्दा भत्किएको देखिदैन तर वरिपरि रहेका चार बुर्जा भत्किएका हुँदा बिग्रिएका भागजति सबै बनाउने योजना अघि बढाएको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले जानकारी दिए । उनले भने, “आवश्यक इँटा ल्याइसकेपछि तत्काल स्काफोल्डिङ्ग अर्थात फलामको पाइपको खट बाँध्ने काम शुरु हुन्छ ।”

मन्दिर भत्काउन तीन महिनापछि मात्र उत्तम साइत भएकाले गत पुस २९ गते क्षमापूजा गरिसकेको प्रधानले जानकारी गराए । शिखरशैलीमा मन्दिर उपभोक्ता समितिमार्फत बन्ने छ । मन्दिर बनाउन ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको छ ।

मन्दिरको बुर्जामुनिको काठ मक्किनुका साथै केही इँटा खिएर फुस्रिएकाले फेर्नुपर्ने भएको काठमाडौँ प्रिजर्भेशन ट्रष्टका कन्ट्री डाइरेक्टर डा. रोहितकुमार रञ्जितकारले बताए ।

उनले भने,“मन्दिर बनाउन भर्खरै कागजी काम अघि बढेको छ । अबको दुई देखि तीन हप्ताभित्र मन्दिर वरिपरि फलामको बार लगाएर दुईदेखि तीन महिनाभित्रमा मन्दिर जीर्णाेद्वारको काम अघि बढ्नेछ । ”

ट्रष्टले मन्दिर बनाउन प्राविधिक सहयोग मात्रै गर्नेछ । मन्दिर जीर्णाोर गर्न परम्परागत ‘दचि अपा’ चाँहिने भएकाले यसको व्यवस्थापनपछि पुनःप्रयोग गर्न मिल्ने सम्पूर्ण सामग्री प्रयोग गरी छिट्टै काम शुरु गरिने रञ्जितकारले जानकारी दिए ।

मन्दिर भत्काइएपछि त्यहाँका सबै सामग्री आफूहरुले सुरक्षित राख्ने जिम्मा लिएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सरस्वती सिंहले बताइन् । सो नरसिंह मन्दिरको महिमा हरेक वर्ष कात्तिक शुक्लपक्ष त्रयोदशीका दिन पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा नृसिंह नृत्य मञ्चन गरी प्रदर्शन गर्ने गरिन्छ ।

भगवान विष्णुले मानव कल्याण र धर्म रक्षाका लागि मत्स्य, बराह अनि नृसिंह अवतार धारण गर्नुभएको कुरा विष्णुपुराणमा छ । विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ नृसिंहका साथै अन्य २६ नृत्यसमेत चलाएका थिए । ऐतिहासिक तथा साँस्कृतिक एवं तान्त्रिक मूल्यमान्यता बोकेको नृसिंह नाट्य महोत्सवमा कथामार्फत अत्याचारी दानब हिरण्यकश्यपुको बध गरी जनतालाई सतकर्मको पालना गर्नुपर्ने सन्देश छर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *