नेकपा विवादः हकदाबीमा होडबाजी

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित भएपछि पार्टीको असली हकदार दावी गर्ने होडबाजी चलेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल–दाहाल समूह र ओली समूहमा विभाजित भएपछि नेकपाको असली हकदार दुवै पक्षले आफूहरू भएको दाबी गर्दै आएका छन् । दिनहुँजस्तो दुवै पक्षले आफूनिकट नेता तथा कार्यकर्ताको भेला गर्दै नेकपाको आधिकारिक पक्ष आफैं भएको जिकिर गर्दै आएका छन् ।

पुस ७ गतेपछि दुवै समूहले आफूनिकट नेता–कार्यकर्ता जम्मा पारेर गरेका बैठक, भेला, आमसभा र विभिन्न कार्यक्रममा नेकपाको संस्थापन आफूहरू नै भएको दाबी गर्दै आएका छन् । केपी शर्मा ओलीले पार्टीको प्रथम अध्यक्ष, महासचिव र माइन्युट आफूसँग भएको र पूर्वएमालेतर्फ रहेका कार्यकर्ताको ठूलो पंक्ति आफूसँग रहेको भन्दै संस्थापन पक्ष आफूहरू भएको दाबी गरेका छन् ।

नेपाल–दाहाल समूहले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा सबै कमिटीमा आफूहरूको बहुमत रहेको भन्दै आफूहरू नै संस्थापन पक्ष भएको दाबी गरेका छन् । यो क्रम एक महिनादेखि नै चलिरहेको छ । ओलीले ‘असली बाजेको पेडा पसल’को संज्ञा दिएर आफू संस्थापन भइरहेको बताउँदा नेपाल–दाहाल समूहले पनि त्यसको खण्डन गर्दै असली आफूहरू नै भएको दाबी गर्दै आएका छन् ।

नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले सो समूहनिकट पत्रकारहरूको भेलामा मंगलबार ओलीले संस्थापन पक्ष भएको भ्रम छरिरहेको बताउँदै पूर्वएमालेमा आफू संस्थापन रहेको, ओलीचाहिँ कुनै एउटा गुटको मात्र नेता भएको बताए । प्रधानमन्त्री ओलीले ‘असली बाजेको पेडा पसल’ आफूतिर रहेको भन्दै आएको अभिव्यक्ति लक्षित गर्दै अध्यक्ष नेपालले अहङ्कार र दम्भले उनी एक्लिएको र भ्रम छरिरहेको बताए । उनले प्रधानमन्त्री ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगाएका छन् । केपी ओली प्रतिगमनका प्रतीक हुन् । उनको एकलवाद, अहङ्कार, दम्भ र संवैधानिक कदमविरुद्ध सिंगो देश आन्दोलित छ, ओली अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेका छन् तर असली एमाले माधव नेपाल हो,’ अध्यक्ष नेपालले भने ।

उनले ‘माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न गए’ भन्ने ओलीको भनाइलाई प्रतिवाद गरे । ‘ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन । तर अब एमाले र माओवादी कोही छैन, सबै एक भइसकेको छ, नेकपा भइसकेको छ,’ उनले भने ।

उनले संसद् विघटन भइसकेपछि प्रधानमन्त्री शर्मा ओलीको हैसियत के हो रु भनेर प्रश्न पनि गरे । ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि उहाँको हैसियत के रु हामीले त यो संसद् विघटन मानेकै छैनौं,’ अध्यक्ष नेपालले भने । उनले ओलीलाई कि कामचलाउ प्रधानमन्त्री भन्न, कि कुर्सी छोड्न चेतावनी पनि दिए । ‘कि काम चलाउ भन्नुस् कि तत्काल कुर्सी छोड्नुस्, तर उहाँ छोड्नुहुन्न । भर्‍याङ बनाउनुहुन्छ । पार्टी, म र प्रचण्डलाई पनि भर्‍याङ बनाउनुभयो,’ अध्यक्ष नेपालले भने । उनले केपी ओलीमा चरम व्यक्तिवाद रहेको टिप्पणीसमेत गरे । ‘सानो कोटरीमा रमाउनु हुन्छ । यहि गुटवादी र अलोकतान्त्रिक संस्कारकाविरुद्ध आन्दोलन गरिरहेका छौं । ओली पद छाड्न चाहँदैनन्, भ्रमको खेती गर्न खप्पिस छन् । एक दिनमा तीनजनालाई तीन पद दिन्छन्,’ अध्यक्ष नेपालले भने । नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *