USAID

प्रतिगमनविरुद्धको आन्दोलनलाई निर्णायक बनाउने तयारीमा लाग्न प्रचण्डको निर्देशन


काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले आन्दोलनलाई बढाउँदै लैजाने भन्दै नेता कार्यकर्तालाई त्यसैअनुरुप तयारी गर्न निर्देशन दिएका छन् ।

सोमबार अखिल नेपाल महिला संघको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आन्दोलनलाई छिट्टै निर्णायक बनाउनका लागि तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

उनले नेपालमा २१ सय वर्ष पुरानो राजतन्त्र आन्दोलनबाट ढलेको भन्दै एक डेढ महिनाभित्र तानाशाह ढल्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र हामी को बेइमानी भन्ने कुरा विधानलाई हेर्दा स्पष्ट हुने बताए । अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा विधानमा सकेसम्म सहमतिमा निर्णय गर्ने तर सहमति भएन भने बहुमतको निर्णय मान्ने भन्ने उल्लेख गरिएकाले विधान हेर्दा स्पष्ट हुने बताए ।

उनले भने, ‘पार्टी एकताका बेलै सकेसम्म सहमतिमा निर्णय गर्ने तर सहमति भएन भने बहुमतको निर्णय गर्ने भन्ने विधानमा उल्लेख छ । यसबाट नै को सही र गलत भन्ने छुट्याउन सकिन्छ । विधानको निर्णयका आधारमा नै जाँच्ने हो । प्रतिवेदनमा जे कुरा सहमति गरिएको हो तर केपीजी त्यहाँबाट बाहिर गएर पार्टी फुटाउन लाग्नुभयो । एकताको विचार कसले छाडेर फुटबादी को भयो भन्ने आर्फै मूल्यांकन गर्नुस् ।’

उनले पार्टी सचिवालयले सर्वसम्मत गरेको निर्णय दुई घण्टापछि म मान्दिन भन्ने केपी ओली कसरी सही हुन् ? भन्दै प्रश्न गरे । उनले भने, वामदेव गौतमलाई राष्ट्रिसभामा लैजाने निर्णय गर्दा ओलीजीले यस्तो गर्नुभयो । बैठकमा अरुका कुरा सुन्ने नचाहने अनि बैठकबाट भाग्ने ?’ उनले केपी ओलीले पार्टीको निर्णय मानेको भए पार्टी एक हुने बताए ।

उनले भने, ‘ चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा मैले सोधें चीनको कम्युनिष्ट पार्टीमा नौ करोड सदस्य छन् । नेपालीको जनसंख्या तीन करोड छ । त्यसको इतिहास एक सय वर्षभन्दा बढी छ । तर त्यो पार्टीमा एकता बचेकै छ । कसरी त्यत्रो पार्टी सदस्य भएको पार्टीमा एकता कायम छ भन्दा सीले माक्र्सवाद लेनिनवादलाई मान्छौं, पार्टीको निर्णय सबैले मान्छौं यसरी पार्टी एकता बचेको हो भन्नुभयो । तर हाम्रोमा पनि केपीले पार्टीको निर्णय मानेको भए यस्तो हुँदैनथ्यो ।’

पार्टी फुटाउनु र संविधानको हत्या गर्ने उद्देश्य भएको भए किन पार्टी एकता गरेको भन्दै ओलीलाई प्रचण्डले प्रश्न गरेका छन् । उनले भने, ‘ओलीजी पार्टी एकता गर्न किन माने त्यतिबेला ? जबज छाड्न किन सहमत भए ? किन एकतामा हस्ताक्षर गरे त्यतिबेला ? मदन भण्डारी प्रतिष्ठानबाट अहिले यस्ता गतिविधि गर्नुथियो त किन जबज त्यागेको त ? म त विकास र समृद्धिका लागि उहाँले नयाँ सोच्न लाग्नुभएको थियो कि भन्ने लागेर मैले हस्ताक्षर गरें । तर म त त्यो हस्ताक्षरमा अहिलेपनि दृढ छु तर उहाँ त संविधानको हत्या गर्नसम्म आइपुग्नु भयो । उहाँले त्यतिबेला गरेको हस्ताक्षर कीर्ते रहेछ । त्यो अपराध हो । उनको उद्देश्य प्रधानमन्त्री हुने दाउमात्र रहेछ । ओलीको कदम प्रतिगामी रहेछ ।’


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *