नेपाली सेनाद्वारा कङ्गोमा २० हजार विस्थापितलाई आवास निर्माण

काठमाडौं । अफ्रिकी मुलुक कङ्गोमा तैनाथ नेपाली सेना शान्ति सैनिकको इञ्जिनीयर गुल्मले निकै छोटो समयमा ठूलो सङ्ख्यामा विस्थापित द्वन्द्वपीडितका लागि आवास निर्माण गरेर उदाहरण प्रस्तुत गरेको छ ।

त्यहाँको डिजुगु क्षेत्रबाट विस्थापित २० हजार जनतालाई बुनियास्थित मुजिपेला क्षेत्रमा नेपाली शान्ति सैनिकले छोटो अवधिमा विभिन्न संरचनासहितको आवास निर्माण गरी हस्तान्तरण गर्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गुल्मले गत जेठ १९ गतेदेखि अन्तर्राष्ट्रिय आप्रवास सङ्गठनको अनुरोधमा सात हेक्टर जमीनमा बाटो र वासस्थान निर्माण गरेको हो ।

यसअघि सन् २०१९ मा पनि उक्त गुल्मले सोही स्थानमा संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजार विस्थापितका लागि आवश्यक संरचना निर्माण गरी महत्वपूर्ण योगदान पुर्याएको थियो ।

नेपाली सेनाको यस कार्यको संयुक्त राष्ट्रसङ्घ शान्ति कार्यका प्रमुख, त्यहाँ तैनाथ शान्ति सैनिकका फोर्स कमाण्डर, गर्भनर र स्थानीयले मुक्तकण्ठले प्रशंसा गरेको छ । हाल गुल्मका गुल्मपति प्रमुख सेनानी सुरेश थापा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *