धनगढी । आगामी फागुन १५ देखि २४ गतेसम्म धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिग(एलपिएल)को पाँचौँ संस्करणको तयारी तीव्र पारिएको छ । पाँचौँ संस्करणको मुख्य प्रायोजक टीकापुरको चण्डिका गु्रप हुने भएको छ ।
धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौँ संस्करणमा चण्डिका गु्रपसँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरिएपछि प्रतियोगिताको पाँचौँ संस्करणको नाम चण्डिका गु्रप लिटिल फ्लावर प्रिमियर लिग हुने भएको छ । लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सले प्रतियोगिताको मुख्य प्रायोजन सम्झौता गरेको जानकारी दिएको हो ।
आयोजकका तर्फबाट इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र चण्डिका ग्रुपका तर्फबाट निर्देशक श्याम कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कैलालीको टीकापुरमा रहेको चण्डिका गु्रपले खाद्यान्न, हार्डवेयर तथा आयात निर्यातको व्यवसाय सञ्चालन गर्दै आएको छ ।लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । लिग कम नकआउटमा खेलाइने प्रतियोगिता धनगढीस्थित सङ्घीय प्रहरी एकाइको खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा विद्यालयस्तरका १९ वर्षमुनिका खेलाडीले सहभागिता जनाउनेछन् । देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए । विगतमा चार जनासम्म नेपालभित्रका १९ वर्षमुनिका खेलाडीलाई सहभागी गराइने प्रतियोगितामा यस वर्ष भने विद्यालय बाहिरका १९ वर्षमुनिका दुई मात्रै खेलाडी सहभागी गराउने तयारी आयोजकले गरेको छ ।
विगतका वर्षभन्दा पुरस्कार राशि पनि यो वर्ष घटाइएको छ । चौथो संस्करणको विजेताले दुई लाख र उपविजेताले एक लाख पाएकामा यसपालि विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार रुपैयाँ दिइनेछ ।
परिवर्तनशील समयसँगै क्रिकेट खेल युवामा मात्र नभई, बयस्क र केटाकेटीका लागि पनि लोकप्रिय खेल बन्न थालेको छ । सुदूरपश्चिममा एक दिवसीय र २०/२० क्रिकेट खेल हुन थालेका छन् ।
