बासमती ‘हाम्रै हो’ प्रमाण जुटाउँदै सरकार

काठमाडौं। पकाउँदा मगमग बास्ना आउने। खाँदा झनै स्वादिलो। खाइसकेपछि सन्तुष्टिको आभास,यस्तो स्वादिलो बासमती चामल विवादमा तानिएको छ। यसको हकअधिकारसम्बन्धी विवाद युरोपियन युनियन (ईयू) मुख्यालयसम्म पुगेको छ।

ईयूले बासमती नाममा दाबी गरेका नेपाल, भारत र पाकिस्तानलाई फेबु्रअरी पहिलो साताभित्र सम्पूर्ण आधिकारिक वैज्ञानिक प्रमाण जुटाएर पठाउन निर्देशन दिएको छ। नेपालले बासमतीमा आफ्नो हक रहेको भन्दै डिसेम्बर ९ मा ईयूमा १३ बुँदे दाबीविरोध जनाइसकेको छ। सरकारले त्यसलाई प्रमाणित गर्न वैज्ञानिक आधार खोज्न थालेको छ।
पर्याप्त वैज्ञानिक आधार र प्रमाण उपलब्ध गराउन सक्ने मुलुकले बासमती नामको चामलको भौगोलिक संकेत चिह्न अधिकार ९ज्योग्राफिकल इन्डिकेसन ९जीआई राइट० पाउनेछ। त्यही भएर तीनै देश सकेसम्म प्राचीनकालदेखिको वैज्ञानिक आधार र प्रमाण जुटाउन लागेका छन्।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले राष्ट्रिय जीन बैंकका वरिष्ठ वैज्ञानिक बालकृष्ण जोशीको नेतृत्वमा अध्ययन समिति गठन गरेको छ। नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बासमती नामको चामल नेपालकै हो भनेर समितिले प्राचीनतम वैज्ञानिक प्रमाण जुटाउन सुरु गरिसकेको जानकारी दिए।

‘बासमती नामको चामल भारतले दाबी गरेजस्तै उसको मात्रै होइन, हाम्रै मुलुकमा पनि प्राचीनकालदेखि उत्पादन हुँदै आएको छ’, कार्यकारी निर्देशक जोशीले भने, ‘हामीले दाबी विरोध गरिसकेपछि त्यसलाई पुष्ट्याइँ गर्न वैज्ञानिक आधार र प्रमाण पठाउनुपर्छ। त्यही कागजातका आधारमा ईयूले अध्ययन गरी आवश्यक निर्णय दिनेछ। यसका लागि हामीले पनि युद्धस्तरमा प्रमाण जुटाउन सुरु गरिसकेका छौं।’

नार्कले गठन गरेको प्रमाण संकलन समितिले विभिन्न प्राचीनकालीन पुस्तक, विभिन्न धर्मावलम्बीसम्बन्धी धार्मिक ग्रन्थ, कृषिसम्बन्धी विभिन्न पुराना र नयाँ वैज्ञानिकले प्रकाशन गरेको लेख, पुस्तक, अध्ययन प्रतिवेदन, अनुसन्धान प्रतिवेदनजस्ता प्रमाण खोज्न सुरु गरेको छ। समितिका संयोजक जोशीका अनुसार भारतले बासमती धानको भौगोलिक संकेत हकअधिकार स्थापित गर्न ईयूमा निवेदन दिएको छ। त्यसलगत्तै पाकिस्तानले पनि उक्त नामको धान आफ्नो हो भनेर निवेदन दिएको थियो। लगत्तै नेपालका तर्फबाट राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रले पनि १३ बुँदे दाबीसहित आधिकारिक दाबी विरोध ईयूमा दर्ता गराएको हो।जोशीले बासमती धान नेपालमा प्राचीनकालदेखि उत्पादन र उपभोग भइरहेको जानकारी दिए। मुख्यगरी तराईको भूभागमा यसको प्रचुर परिमाणमा खेती हुन्छ।

ईयूमा दाबी विरोध गर्दै

नेपालले बासमती धानको ४ प्रकारको जात सरकारको राजपत्रमा समेत प्रकाशन भएको उल्लेख गरेको छ। यसका साथै जीन बैंकले करिब २५ प्रकारको रैथाने बासमती धानका जात वर्षौंदेखि नेपालका विभिन्न क्षेत्रबाट संकलन गरी बैंकमा सुरक्षित गरी राखिएको पनि उल्लेख गरेको छ। यस्तै, नेपालका विभिन्न स्थानबाट सन् १९७० देखि संकलित ४७ प्रकारका रैथाने जातका बासमती धान पनि जीन बैंकमा सुरक्षित साथ राखिएको उल्लेख गरेको छ।

के थियो १३ बुँदे दाबी
नेपालमा वर्षौंदेखि बासमती धानको उत्पादन र उपभोग हुने गरेको प्रमाण पाइन्छ। बासमतीको शाब्दिक अर्थ बासना दिने धान र चामल हो। नेपालमा विभिन्न थरीका बास्ना आउने धान र चामलका रैथाने जात पाइन्छ। बासमती धानको विषयमा सन् १९६० मा र त्यसअघि पनि अध्ययन भएको प्रमाण नेपालसँग सुरक्षित छ। बासमती धानका ४ प्रकार राजपत्रमै प्रकाशित छन्।
नेपालको सामाजिक तथा सांस्कृतिक पक्षसँग बासमती धान गहन रूपमा जोडिएको छ। बासमती धान नेपालमा उत्पत्ति भएको र निश्चित क्षेत्रमा वर्षौंदेखि खेती भएको प्रमाण यथेष्ट छ।

यो धानको उत्पत्ति केन्द्र नेपालको दक्षिणी तराई क्षेत्र पनि हो भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकको विभिन्न अनुसन्धानपत्रमा उल्लेख छ। नेपालको लोकल बासमती धानका विभिन्न जातलाई नार्कले मर्फोलोजी, डीएनए तथा आइसोजाइम टुल्सको सहयोगमा चरित्र चित्रणसमेत गरिसकेको छ। बासमती धान र यसको प्रजातिबारे पर्याप्त जर्नल, पुस्तक तथा बुकलेट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रकाशित छन्। सामुदायिक बीउ बैंकले बास्मति धान र चामललाई नेपालका विभिन्न ठाउँमा प्रवद्र्धन गरेका छन्।

नेपालका विभिन्न स्थानीय राइस मिलले बासमती धान र चामलको ब्रान्ड नै बनाएर लामो समयदेखि बिक्री–वितरण गर्दै आएका छन्। नेपालका विभिन्न स्थानबाट सन् १९७० देखि संकलन गरिएका ४७ प्रकारका रैथाने बासमती धानका जात नार्कले अन्तर्राष्ट्रिय जीन बैंकमा सुरक्षित गरी राख्ने व्यवस्था गरेको छ। नार्कको राष्ट्रिय जीन बैंकले करिब २५ प्रकारको रैथाने बासमती धानका जात वर्षौंदेखि नेपालको विभिन्न क्षेत्रबाट संकलन गरी सुरक्षित साथ राखेको छ। नेपालको निश्चित भौगोलिक क्षेत्रको गुण बासमतीको गुणस्तरसँग जोडिएका छन्। पोखरामा फलेको जेठो बूढो बासमती धान र काठमाडौंमा फलेको जेठो बूढो बासमती धानको स्वाद अलग फरक छन्।

भारतले अधिकार पाए के हुन्छ
भारतले बासमती नाम र चामलको हकअधिकार पाए नेपाललाई ठूलो घाटा हुनेछ। त्यस्तो अवस्थामा नेपालले बासमती नामबाट उक्त चामल उत्पादन, स्वदेश तथा विदेशमा बिक्रीवितरण गर्न पाउनेछैन। अर्थात् भारतले मात्रै बासमती भन्ने नाम प्रयोग गर्ने, त्यो नामको धान उत्पादन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न पाउनेछ।

नेपालले बासमती जातको चामल उत्पादन गरेर पनि यही नामबाट नामकरण गर्ने र बोलाउने अधिकारबाट सदाका लागि वञ्चित हुनुपर्नेछ। यसबाहेक नेपालले उक्त जातको चामल उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा सोही नामबाट बिक्री वितरण गरेको अवस्थामा बिक्री मूल्यमध्ये केही निश्चित रकम भारतले स्वतः पाउनेछ। अन्नपूर्णपोष्टबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *